प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रवार संसदमा भएको घटनालाई सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि आमन्त्रण गरेको रुपमा बुझेको बताएको छ ।

शुक्रवार संसदमा भएको घटनाले सरकार हिटलर शैलीमा अगाडि बढ्न खोजेको संकेत मिलेको कांग्रेसको टिप्पणी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार साँझ पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बलजफ्ती ढंगले विवेकलाई निलम्बन गरेर संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएको आरोप लगाएका हुन् । सरकारको बलजफ्तीबाट प्रधानमन्त्रीप्रति नागरिकको विश्वासमा ह्रास आएको उनले दावी गरे ।

‘धैर्यताले छुनुपर्ने उचाइलाई छोएको छ, हाम्रो सालिनतालाई कमजोर नठानियोस्, प्रतिपक्षको एक अपिलले मुलुक ठप्प हुन्छ,’ प्रवक्ता शर्माले भने । उनले कांग्रेसको शालिनताका कारण संसदमा ठूलो घटना नभएको दावी गरे ।

‘यदि आज कम्युनिस्ट पार्टी प्रतिपक्षमा रहेको भए संसदमा कतिथान कुर्सी भाँचिन्थे होला ?’ प्रवक्ता शर्माले भने । संसदमा सरकारको प्रस्तुतीका कारण सतर्क हुनुपर्ने अवस्था आएको उनले बताए ।

‘बहुमत त हिटलरसँग पनि थियो, हिटलरले विवेक गुमाएका कारण इतिहास बन्यो,’ शर्माले भने । उनले १३ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्ने बताए । लोकान्तर बाट