पार्थ मण्डल) भद्रपुर । झापाको भद्रपुर नगरपालिका ९ स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ बर्षीय कमलसिंह दुगडको हत्या रहस्यमय बनेको छ । उद्योगमा विगत दुई बर्षदेखि म्यानेजरको रुपमा कार्यरत ६२ बर्षीय दुगड हात खुट्टा बाँधिएको अवस्थामा उनी सुत्ने खाटमै मृत अवस्थामा शव फेला परेपछि हत्याको घटना रहस्यमय बनेको हो ।
उद्योग परिसर भित्र कार्यालयसंगै रहेको कोठामा एक्लै बस्दै आएका दुगडको हत्या कसले र किन गरेको हो भन्ने बिषयमा प्रहरी शनिवार दिनभर अनुसंन्धानमै जुटेको थियो । ‘मृत अवस्थामा फेला परेको दुगडको शरिरमा कुनै किसिमको चोट पटक छैन’, प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले भने, ‘उनको मुखमा कपडा कोचिएको थियो, दुवै खुट्टालाई लाइलनको डोरीले र दुवै हातलाई गम्छाले बाँधेर खाटमै सुतिरहेको अवस्थामा उनको शव भेटियो ।’
शवको प्रकृति हेर्दा उनको हत्या भएको डिएसपी श्रेष्ठको दावी छ । ‘अहिले सम्मको प्रारम्भिक प्रहरी अनुसंन्धानबाट उनको हत्या सिरानीले थिचेर गरिएको हुन सक्ने देखिन्छ, उनले भने । घटनास्थलमा प्रहरी टोलीले सर्च गर्दा मृतक दुगडसँग रहेको भारतीय एक लाख पाँच हजार रुपैयाँ उनकै कोठामै फेला परेको छ ।
कोठामा अन्य कुनै सरसामान चोरी भएको देखिदैन । नगद पनि जस्ताको त्यस्तै भेट्नु, सरसामान पनि केही चोरी नहुनु र उनको हत्या मात्र हुनु घटनाले प्रहरीलाई अनुसंन्धानमा थप चुनौती थपिदिएको छ । प्रहरीले दुगडको हत्यारा पत्ता लगाउन विभिन्न दृष्टिकोणबाट अनुसंन्धान जारी राखेको डिएसपी श्रेष्ठको भनाई छ । उद्योगको कम्पाउड वाल पछाडी प्रहरीले एउटा ब्रेञ्ची फेला पारेको छ । सोही ब्रेञ्चीको मदतमा कम्पाउड वाल चढेर हत्यारा उद्योगमा प्रवेश गरेको हुन सक्ने प्रहरीको अनुमान छ । सो ब्रेञ्ची उद्योग अगाडि खोलिएको चिया पसलको हो ।
घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन
शनिवार विहान ८ बजे उद्योगमा हत्या भएको घटना सार्वजनिक भएपछि तत्काल प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकाल र डिएसपी महेन्द्र श्रेष्ठ घटनास्थल पुगेका थिए । घटनास्थल पुगेका प्रहरी टोलीले मृतक दुगडको शवको प्रकृति हेर्दा हात खुट्टा बाधेको देखेपछि थप अनुसंन्धानका लागि धरानको कुकुर शाखाबाट तालिम प्राप्त कुकुरसहित टोली बोलाए ।
त्यसअघि नै प्रहरीले घटनास्थल वरिपरी घेराबन्दी गरिसकेका थिए । कुकुरसहितको टोली घटनास्थल आइपुगेपछि मात्र प्रहरीले थप अनुसंन्धान अघि बढाएको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार कुकुरले हत्या भएको दुगडको शव र घटनास्थल सुँघे । सुँघेर उद्योगदेखि करिब डेढ किलोमिटर दक्षिणमा पर्ने लक्ष्मी चोक सम्म आएर कुकुर फर्किए ।
बुबालाई भेट्ने दुगडको सपना अधुरै
घरमा बुबा सिकिस्त बिरामी परेको खबर आएपछि कमलसिंह दुगड बुबासँगै उनका परिवारलाई भेट्न शनिवार विहान घर फर्किने तयारीमा थिए । तर, बुबालाई हेर्न र उपचार गराउने सपना अधुरै रह्यो । म्यानेजर दुगडको बुबा बिरामी परेको खबर सुनेपछि उद्योग प्रशासनले उनलाई केही दिनको विदा स्वीकृत गरिसकेको थियो ।
घर फर्किनलाई उनको रेलको टिकट सिलगुुढीबाट शनिवार दिउँसो २ बजेको थियो । दुगड घर जानलाई सम्पूर्ण तयारी पूरा गरिसकेका थिए । उद्योगका गाडी चालक अशोकलाई उनले शनिवार विहान आफुलाई लिन आउनु भनि जानकारी गराएको कर्मचारीहरु बताउँछन् । शनिवार विहान जब चालक अशोक दुगडलाई लिन उद्योग पुगे कोठा खोलेर हेर्दा उनको हत्या भइसकेको थियो । हत्या कति बजे भयो भन्ने केही खुलेको छैन ।
उद्योगमा कार्यरत गार्ड डम्बर खतिवडाका अनुसार म्यानेजर दुगड साबलाई शुक्रवार राती ९ बजे देखेको बताए । उद्योगका कर्मचारीहरु भन्छन्– ‘म्यानेजर दुगड साब राती सुत्दा कहिले कोठा भित्रबाट बन्द गर्दैनथे, कोठा जहिले खुल्ला राखेर सुत्ने बानीले नै उनको ज्यान गयो ।’










