मोरङ- मोरङको सुन्दरहरैंचास्थित नगरपालिकामा विहानदेखि जारी तनाव नियन्त्रणमा आउन सकेको छैन। विहान करिब ८ बजेर ५० मिनेटको समयमा स्थानीय ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि तनाव उत्पन्न भएको हो।
विराटचौकबाट हरैंचातर्फ जादैं गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थिति नियन्त्रणका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मोरङका प्रमुख रमेशकुमार केसीले बताए। उनले भने, ‘स्थिति नियन्त्रणका लागि सुरक्षानिकाय घटनास्थलमा रहेका छन्। केही समयपछि अवस्थामा सुधार आउनेछ।’
यद्यपि, विहान सवा एघारबजेबाट जारी गरिएको निषेधाज्ञा स्थानीयले अवज्ञा गरेका छन्। विराटनगर–विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञा जारी गरिएकोमा स्थानीय बासिन्दाले उल्लंघन गरेका हुन्।
यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ। घटनाबारे प्रजिअ केसीले जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको र निषेधित क्षेत्रमा अझै पनि प्रदर्शन नरोकिएका कारण स्थानीय प्रशासनले यस विषयमा थप निर्णय लिन सक्ने जानकारी दिएका छन्।
‘घटना भएको क्षेत्रमा थप स्थिति कस्तो हुन्छ भन्ने नियाल्दैछौं,’ उनले भने, ‘स्थित थप तनावपूर्ण र आक्रोस बढ्दै गए बाँकी कदम पनि चाल्नु पर्ने स्थिती आउन सक्छ।’
निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिती थप तनावपूर्ण बन्दै गएको छ।
घटनापछि आक्रोसित स्थानीयले हालसम्म ११ वटा टिपरमा आगजनी गरिसकेको बताए पनि प्रहरीले त्यसलाई पुष्टि गरेको छैन। प्रहरीले भने अहिलेसम्म सातवटामा मात्रै आगजनी गरिएको विवरण प्राप्त भएको जनाएको छ।
निषेधाज्ञाको अवज्ञा गर्दै स्थानीय बासिन्दाले टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन्।
ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिति थप तनावपूर्ण बन्दै गएको छ। घटना नियन्त्रणका लागि हाल जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी लगायतका स्थानबाट प्रहरीको टोली खटाइएको छ।देशसञ्चार










