दमक, झापा माघ १५
यहि माघ १७ गते देखि दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भए पछि सुरक्षा सतर्कता बढाईएको छ । प्रधानमन्त्री ओलीले महोत्सव उद्घाटन गर्ने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्र समेत परिचालित भएको छ ।
यसै विच प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली माघ १७ गते बिहान साढे ११ बजे दमक आई पुग्ने छन् । ओलीको सचिवालयका विकास निर्माण संयोजक होमबहादुर थापाका अनुसार दमकमा आयोजीत बाल महोत्सवको उद्घाटन पछि उनी कमल–३ को सहिद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्ने छन् । त्यहाँ उनी १ देखि २ बजे सम्म रहने छन् भने अपह्रान्ह ३ बजे भद्रपुर स्थित मेची नदीको पुल उद्घाटन गर्ने कार्यतालिका छ । सोहि दिन साँझ ५ बजे उनले भद्रपुर बिमानस्थलबाट हुने रात्रीकालिन उडानको उद्घाटन गर्ने जनाईएको छ ।
कार्यक्रम स्थलको निरीक्षण
बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्माओलीले गर्ने तय भए पछि यस प्रति सुरक्षा निकायले पनि चासो देखाएको छ । सोहि क्रममा मंगलबार प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, झापा प्रहरी प्रमुख भिमप्रसाद ढकाल, प्रदेश ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेल, लगायतले कार्यक्रम स्थल दमक–९ को सरस्वती मािवको प्राङ्गण अवलोकन गरेका छन् । सो क्रममा उनीहरुले महोत्सव तयारीको अवस्था, उद्घाटन कार्यक्रमको तालिका लगायतका बारेमा जानकारी लिएका छन् ।
उनीहरुलाई नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा बालमहोत्सव मूल समारोह समिति संयोजक गीता अधिकारी लगायतले हाल सम्मको तयारीको अवस्था, उद्घाटन कार्यक्रम लगायतका बिषयमा जानकारी गराएका थिए । दमक नगरपालिकाको आयोजनामा हुने महोत्सवको सवै तयारी पूरा भएको पनि आयोजकले जनाएको छ ।











