निजी बैंकहरुले आफूखुशी पूर्व सूचना विनानै ब्याजदर बढाएको भन्दै प्रदेश नं १ का उद्योगी व्यवसायीहरु चरणबद्ध आन्दोलनको तयारीमा जुटेका छन् । मोरङका उद्योगी व्यवसायीहरु आन्दोलित भएपछि दमकका उद्योगी व्यवसायीहरु समेत संगठित रुपमा आन्दोलनमा जाने तयारीमा जुटेका हुन् ।

आन्दोलनको पूर्व तयारीका बिषयमा दमकमा मंगलबार दमक उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा सहभागिहरुले बैंकहरुले सम्झौता विपरित विना पूर्व सूचना बैंकहरुले आधार व्याजदर भन्दा दोब्बर बढी ब्याज असुल गरिरहेको भन्दै आपत्ति जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैंकले ७ प्रतिशत आधारभुत व्याजदर तोकेका भएपनि अहिले १४ प्रतिशत सम्म ब्याज असुल गरिरहेका कार्यक्रमका सहभागिहरुले बताए । छलफलमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बैंकहरुको मनपरी ब्याजदरका कारण उद्योगी व्यवसायीहरु मारमा परेको बताए । उनले एउटै बैंकले पनि उस्तै प्रकृतिको व्यवसायमा ऋण लगानी गर्दा ऋणी हेरेर फरक फरक ब्याजदर असुल गरिरहेकाले बैंकको ब्याजदरमा एकरुपता हुनुपर्ने बताए ।

संघका निवर्तमान अध्यक्ष तथा पूर्व केन्द्रिय सदस्य प्रकाश प्रसाइँले बैंकहरुले निश्चित मापदण्ड र पूर्व सूचना नगरी व्यवसायी ( ऋणी)हरुसंग असुल गरिरहेको ब्याजदरका बिषयमा संगठित रुपमा प्रदेशस्तरमै आन्दोलनका कार्यक्रम तय गरिनुपर्ने सुझाए ।

दमकका युवा व्यवसायी अजय अग्रवालले निजी क्षेत्रलाई सरकार र निजी बैंकहरुले नै हेर्ने दृष्टिकोण ठिक नभएको भन्दै बैंकहरु लगाम विनाको घोडा जस्तै बनेको टिप्पणी गरे । उनले एउटै शहरमा स्थानीय सरकार आफैं सहभागि भएर निजी बैंकहरुलाई प्रोत्साहन गर्दै ३/४ वटा सम्म शाखा उद्घाटन गर्दै हिंडनु जायज नभएको तर्क गरे ।

दमकका होटल व्यवसायी मोहन ढकालले सरकार युवाहरुलाई विदेश पलायन रोक्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने नारामा केन्द्रित भएको तर स्वदेशी उद्योग, व्यवसायलाई प्रोत्साहन गर्नुको सट्टा एकपछि अर्को गर्दै निजी क्षेत्रमाथि आक्रमणमा उत्रिएका कारण उद्योगी व्यवसायीहरु संगठित रुपमा आन्दोलनमा उत्रिनु पर्ने बाध्यता आईपरेको बताए । रोजगारको अवसर दिने उद्योग व्यवसायमाथि बैंक तथा सरकारी निकायबाट भईरहेको आक्रमण निन्दनीय भएको उनले आरोप लगाए ।

अर्का व्यवसायी तुलाराम न्यौपानेले उद्योगी व्यवसायीहरुलाई ब्याज दर बढाएर बैंकहरुले गरिरहेको अन्यायका विषयमा बैंकर्सहरुसंग पनि पहिलो चरणमा छलफल गरेर प्रभावकारी आन्दोलनमा जानुको विकल्प नरहेको बताए । बैंकर्स समेत रहेका दमकका अर्का उद्योगी माधव पराजुलीले राष्ट्रको नीति र बैंकहरुबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसायीहरु पीडित हुनुपरिरहेको बताए ।

दमक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश प्रशाइले बृहत छलफलबाट अघि बढ्न सुझाव दिए । उनले यसको नेतृत्व दमकबाटै गर्नु पर्नेमा जोड दिए । छलफलमा डा. मुक्ति भट्टराई, व्यवसायी हरी उप्रेती लगायतले पनि भावी आन्दोलनका कार्यक्रमहरुबारे रचनात्मक सुझाव राखेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले छलफलमा आएका सुझावहरुलाई मध्यनजर गर्दै संगठित रुपमा उद्योगी व्यवसायीहरुको छाता संगठनले अन्य संघहरुसंग समेत समन्वय गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । मनोमानी रुपमा बैकले बढाएको ब्याज ब्यवसायी तिर्न बाध्य नहुने जनाउदै बैकहरु, स्थानीय सरकार र प्रशासनलाइ तत्काल लिखित जानकारी गराउने समेत निर्णय भएको खतिवडाले जनाए । सो कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष गोपाल गुरागाइँले गरेका थिए ।