काठमाडौं, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रमुख मागको सम्बोधन भइसकेकाले संसद् बैठक अवरुद्ध गर्नुको औचित्य नभएको बताएका छन् ।
सांसद भट्टराईले भने, “काँग्रेसको माग सम्बोधन भएको छ, संसद् बैठक अवरुद्धको बहाना मात्र बनाएको हो भने त्यसलाई हामीले त्यहीरूपमा बुझ्नुपर्ने हुन्छ ।” संसदीय व्यवस्थामा प्रतिपक्षी दलले संसद्मा मुद्दा उठाउने अधिकार राख्छ, तर भनेजस्तो संसद् बैठकले गर्नुपर्छ भन्ने नभएको उनको भनाइ छ ।
नेपाली काँग्रेसका सांसदले आफ्नो दलको पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका दुई अस्पताललाई सरकारले सङ्घ मातहत राखेर सञ्चालन गर्नुपर्ने मागसहित संसद् बैठक अवरुद्ध गर्दैआएका थिए । सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काँग्रेसका दुवै पूर्वसभापतिको नाममा सञ्चालनमा रहेको अस्पताललाई सङ्घीय सरकार मातहत ल्याएर सञ्चालन गर्ने निर्णय गरिसकेका छ ।
मन्त्रिपरिषद्को सो निर्णयपछि काँग्रेसले संसद् बैठकमा अवरोध नगर्ने बुझाई सत्तपक्षी दलका सांसदको छ । तर काँग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर संसद् बैठक अवरुद्ध गर्ने कार्यक्रम फिर्ता नभएको जानकारी गराएको छ । त्यस्तै, कार्य व्यवस्था परामर्श समितिको बुधबारको बैठकमा पनि काँग्रेसका सांसदले बैठक सुचारु गर्ने विषयमा सङ्केत नगरेपछि बिहीबार बस्ने संसद् बैठकमा विरोध जारी रहने बुझिएको छ ।
‘काँग्रेस जिम्मेवार प्रतिपक्षी दल हो भने संसद् बैठक सञ्चालन गर्ने वातवरण निर्माण गर्नमा लाग्नुपर्छ, माग सम्बोधन हुँदा पनि बैठक अवरुद्ध गर्ने हो भने त्यो गलत हुन्छ’ सांसद भट्टराईले थपे, ‘काँग्रेसले संसदीय व्यवस्थालाई नै धरासायी पार्न खोजिरहेको छ कि १ त्यसो हो भने त्यसको बहस अन्यत्रै मोडिन्छ ।’ गोरखापत्र दैनिकबाट










