झापा÷अव कोही पनि भोकले मर्नु नपर्ने अवस्था आएको प्रधानमन्त्री केही शर्मा ओलीले बताउनु भएको छ । उहाँले आफ्नो गृहनगर दमकमा विहीबार आयोजित प्रदेश स्तरीय बृहत बालमहोत्सवको डिजिटल स्वीच थिचेर उद्घाटन गर्दै सेन्टिमेन्टमा र अनाआवश्यक तानातनमा नलागी विकासमा लाग्नु पर्ने बताउनु भयो ।

आफ्नो ठाउँको विकास गर्ने कुरामा जनता आफै अगाडि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनु भएको छ उहाँले प्रदेश नम्बर १ मा उच्च हिमाल देखि विभिन्न पर्यटन र साँस्कृतिक महत्वका क्षेत्र समेत भएकोले विकासको संभवना प्रचुर रहेको बताउनु भयो । कृषि, पर्यटन, जलस्रोत, साँस्कृतिक क्षेत्र प्रदेश नम्बर १ को विश्व सामु चिनाउने गहना रहेको बताउनु भयो । उहाँले बालमहोत्सवलाई शुभकामना दिदैंँ महोत्सवको सन्देश बालबालिकाका लागि दण्ड रोक्ने र माया गर्ने खालको जानु पर्ने बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले प्रदेश नम्बर १ ले काठमाण्डौंलाई समेत पानी खुवाउन सक्ने क्षमता रहेको भन्दै विधुत उत्पादनका कार्यहरु समेत दु्रत गतिमा भईरहेको बताउनु भयो । उहाँले चाँडै किमाथाङ्का सडक खुल्ने, गौरीगञ्जको भन्सारको स्तरोन्नती गरिने बताउनु भयो । यता कमल गाउँपालिकाको शहित धर्मभक्त माविको कार्याक्रममा बोल्दै प्रम ओलीले अवको शिक्षा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनु पर्ने बताउनु भयो ।

महोत्सवमा विधार्थीले व्याण्डबाजा सहित सलामी दिएर शुरु गरिएको कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बालबालिकाको विकासमा दमक नगरले महत्वपूर्ण र फलदायी कार्य गरेको भन्दै महोत्सवका लागि १० लाख रुपयाँ छुट्याइएको बताउनु भयो । राईले महोत्सवले प्रदेश नम्बर १ का बालबालिकाको क्षमता र दक्षता अभिबृद्धिमा ठूलो योगदान दिने भन्दै सफलताको शुभकामना समेत दिनु भयो ।

कार्यक्रममा महोत्सव संयोजक दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बालबालिको विकासका लागि आफूहरुले ऐतिहासिक महत्व र बालबालिकाका हितका लागि कार्यक्रम आयोजना गरेको कुरा प्रधानमन्त्री समक्ष राख्नु भयो । कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सांसद समेतको उपस्थिति रहेको छ । विधार्थीका विभिन्न १० विधामा गरिएको प्रतियोगिता सहितको महोत्सवमा विज्ञान प्रर्दशनी, बालबालिका क्षमता प्रदर्शनीका अन्य विधाहरुलाई समेत समेटिएको छ । महोत्सवमा बालबालिकाले नै विभिन्न जातीय झाँकी समेत प्रस्तुत गरेका छन् । यस्तै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रोफायलको समेत विमोचन गर्नु भएको छ । नगरका मेयर रोमनाथ ओलीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न विधालयबाट आएका विधार्थीहरुले झाँकी, नृत्य समेत प्रस्तुत गरेका छन् ।

यता आजै देखि निवन्ध लेखन, चित्रकला प्रदर्शनी, विज्ञान प्रर्दशनी समेत शुरु गरिएको छ । आगामी २१ गतेसम्म हुने महोत्सवमा आज राष्ट्रिय कलाकार सत्य, स्वरुप आचार्य, विल्सन विक्रम राई, राजेन्द्र पोखरेल (राजा राजेन्द्र)को समेत उपस्थिति रहेको छ ।