विष्णुप्रसाद पोखरेल
दमक । झापाको भद्रपुर नगरपालिकाको चन्द्रगढी बिमानस्थलबाट रात्रिकालीन उडान शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिकालीन उडानको विहिबार अबेर उद्घाटन गर्नु भएको हो । यसभन्दा अगाडि बुधबार बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार साँझ रात्रिकालीन परीक्षण उडान गरेको थियो ।
निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार साँझ रात्रिकालीन परीक्षण उडान गरेको थियो । विहिबार प्रधानमन्त्री ओलीले यसको औपचारिक उद्घाटन गर्नु भएको हो । विहिबार दिउसो प्रधानन्त्री ओली सहित झापा आएको टोली बेलुका यति एयरलायन्स मार्फत रात्रिकालिन उडानबाट नै काठमण्डौ फर्कनु भएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी पनि ओलीसंगै आउनु भएको थियो । बिमानस्थलमा आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिन्छ, चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पुर्ण चुडालले बताउनु भयो ।
यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिने पनि उहाँको भनाइ छ । यसअघि हुस्सु लाग्दा र आकाश धुम्म हुँदा बिमान अवतरण गर्न समस्या हुने गरेकोमा अब सधै र चौबीसै घण्टा बिमान शुचारु गर्न सकिने जनाईएको छ । पुर्वी नेपालको झापा सहित पहाडि जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका यात्रुहरुमात्र नभएर पर्यटकहरुको समेत यस बिमानस्थलमा चाप हुने भएकाले यसले धेरै फाइदा पुग्ने बताइदै आएको छ ।
छिमेकी मुलुक भारतको सिलिगढी, दार्जिलिङ, सिक्किम, तेश्रो मुलक भुटान र बङगलादेशका पर्यटकहरु समेतलाइ यसले फाइदा पुग्ने बताईएको छ । यो बिमानस्थल भएर आधाभन्दा बढि यात्रुहरु भारत तथा तेश्रोदेशको हुने गरेको समेत बताइन्छ । भारत, भुटान र बंगलादेशको केन्द्रबिन्दुको रुपमा यो बिमानस्थललाइ प्रयोगमा ल्याउन सकिने अवस्था रहेको छ, चुडालले भन्नुभयो ।
केहि दिन अघि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले यहाँबाट सोझै बंगालादेश उडानको सम्भवानाको बिषयमा समेत मन्त्रालयले आवश्यक अध्ययन शुरु गरेको बताउनु भएको थियो । उहाँले यहाँबाट माउण्टेन उडान र अन्य प्रदेशसंग जोड्ने उडानहरु समेत गर्न सकिने बताएपछि बिमानस्थलले यसको तयारी समेत तिव्र रुपमा अघि बढाएको जनाउदै आएको छ । पर्यटकहरुलाइ लक्षित गरेर पोखरा उडान चाडै नै शुरु गर्दैछौ, नागरिक उडड्यायन कार्यालय चन्द्रगढीका प्रमुख चुडालले भन्नुभयो ।










