विष्णुप्रसाद पोखरेल
दमक । प्रदेश नं. १ को हिउदे अधिवेसन शुरु भएपछि प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा फेरी बहस चर्केको छ । बिभिन्न जातीय संघसंगठनहरुले पहिचानको कुरा उटाउदै जातीय नामकरणको माग अघि सारेकाछन् भने अन्यले यसको विरोध गर्दै प्राकृतीक सम्पदा एवं हिमऋखलाहरुको नाम राख्न सकिने भन्दै बहस चलाएकाछन् ।
केहिदिन अघि दमकमा भएको एउटा बहसमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले जातीय नामकरण हुन नसक्ने बताउनु भएको थियो । उहाँले सर्वस्वीकार्य नामकरणको पक्षमा आफुहरु रहेको भन्दै जातीय नामकरण असम्भव भएको बताएपछि यो बिषय झन् पेचिलो बन्दै गएको छ । नामको विषयमा वहसहरु हुनु सकारत्मक हो, हामी सबैलाइ मान्य हुने नामकरण गर्ने पक्षमा छौ, आङ्बोले भन्नुभयो ।
राजधानी विराटनगर नै बन्न सक्ने र यसमा खास विवाद नरहेको भएपनि नामकरणको बिषय भने सहज नभएको बताइदै आएको छ । सगरमाथा र त्यो नभए कोशी नामकरण गर्न सकिने सरकारको नेतृत्व गरेको नेकपाले आन्तरिक रुपमा वहस चलाएको बताइन्छ । मुख्य मन्त्री शेरधन राइ भने नामको पछि किरात जोड्नका लागि जोडबल गरिरहेको भन्दै नेकपाभित्र उहाँको आलोचना समेत हुन थालेको छ । राइले सार्वजनिक कार्यक्रमहरुमा भने प्रदेशलाइ चिनाउने र सर्वस्वीकार्य नाम ल्याउने बताउदै आउनु भएको छ ।
नेकपाका एक प्रदेश नेताका अनुसार जातीयताका आधारमा वा नामको पछाडि पुच्छर जोड्ने कार्य नगर्नका साँसदहरुलाइ सचेत गराइएको छ । कोशी किरात वा सगरमाथा किरात राख्नका लागि मुख्य मन्त्री राइको जोडवल रहेको बताइएपनि औपचारिक रुपमा उहाँको धारणा भने बाहिर आएको छैन । सघिय लोकतान्त्रिक रास्ट्रिय मन्च लगायतका जातीय तथा क्षेत्रीय संघगठनहरुले लिम्बुवान र किरात नामकरणको मुख्य एजेण्डा बनाएकाछन् ।
कोशी वा सप्तकोशी पनि पहिचानसंग जोडिएको नामकरण हुने भएकाले साँसदहरुले यसमा जोडबल गर्न शुरु गरेको बताइन्छ । सामाजिक सञ्जालहरुमा भने सगरमाथा नामकरण गर्नु पर्ने भन्दै दवाव सिर्जना भएरहेको पाइन्छ । अन्तराष्ट्रिय रुपमा परिचित र सम्मानित एवं विवादास्पद नहुने एक मात्र नाम हो सगरमाथा, प्रदेशको नाम किरात, लिम्बुवान, विजयपुर नहुने, कोशी हुनुभन्दा त सगरमाथाू नाम उत्तम छ, सामाजिक सञ्जालमा रोशन दाहाल लेख्नुहुन्छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले चालु हिउदे अधिवेसनबाट सर्वसम्मत रुपमा प्रदेशको नामकरण गर्ने दिशामा आफुहरु लागेको बताउनु भयो । सगरमाथा, कोशी, सप्तकोशी, कन्चनजङ्घाजस्ता नामहरु र यसका पछाडि जोड्न सकिने नामहरुको विषयमा पनि चर्चा भइरहेको भन्दै उहाँले जन अपेक्षालाइ नभुल्ने उहाँको भनाइ छ । नामकरणको विषयमा सरकार तथा नेकपाभित्र भने विवाद छैन, उहाँले भन्नुभयो ।










