सामाजिक सञ्जाल र परिवारको बेवास्ता आत्महत्याका मुख्य कारक
टीकाराम नेती/बिर्तामोड
गत पुस ८ गते झापा अर्जुनधारा नगरपालिका–३ की १० वर्षीया बालिका घरमै पासो लगाएर झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परिन् । त्यसको चार दिनअघि कन्काई नगरपालिका–२ मा भुजेल थरकी १२ वर्षीया बालिका पनि त्यस्तै अवस्थामा फेला परिन् । यी घटना सेलाउन नपाउँदै कन्काई नगरपालिका–२ मा १४ वर्षीय बालक पनि पासो लगाएर झुन्डिएको अवस्थामा नै मृत फेला परे ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १४ वर्ष मुनिका प्रायः सबैले आफ्नै घरमा कपडाको पासो लगाएर आत्महत्या गरेको पाइएको छ । जिल्लामा पुस महिनामा मात्र ४२ जनाले आत्महत्या गरेको तथ्यांक छ । तीमध्ये सात जना बालबालिका छन् ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ बालबालिकाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।सोच्दै नसोचिने सामान्य विषयका कारण एक साताभित्रै सात बालबालिकाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
बालबालिकामा आत्महत्याको बढ्दो दरका प्रमुख कारण सामाजिक सञ्जाल र अभिभावकको बेवास्ता देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालले बताउनु भयो । बालबालिकाबीच टीभी हेर्ने, मोबाइल चलाउने तथा घुम्न जाने विषय नै आत्महत्याको प्रमुख कारक तत्व बनेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जिल्लामा १४१ जनाले आत्महत्या गरेका छन् । तीमध्ये १२ बालबालिका, ८८ पुरुष र ४१ महिला रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७४र७५ मा पनि जिल्लामा १३ बालबालिकाले आत्महत्या गरेका थिए ।
तीमध्ये सात बालक र ६ बालिका थिए । यसैगरी सो अवधिमा जिल्लामा कुल २४७ जना झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
हरेक तीन दिनमा दुई जनाको आत्महत्याका कारण ज्यान जाने गरेको तथ्य फेला परेपछि स्थानीय प्रहरी प्रशासन यसप्रति गम्भीर बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी महेन्द्र श्रेष्ठले बताउनु भयो ।
‘बालबालिकाको आत्महत्या गर्ने दर डरलाग्दो किसिमले बढिरहेको छ,’ बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले भन्नुभयो, ‘यसको कारण पत्ता लगाई रोकथाम गर्न आवश्यक छ । यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्छ ।’
आत्महत्या गर्नेको संख्या जिल्लामा बढेको देखिएपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आगामी फागुन ६ गते सम्बन्धित सरोकारवाला निकाय, कार्यालयका प्रमुख र स्वाथ्यकर्मीहरूको संयुक्त बैठक बोलाउनु भएको छ ‘अब के गरेर यस सम्बन्धमा जनचेतना फैलाउन र यसको रोकथाम गर्न सकिन्छ भन्ने विषयमा हामी गहन रूपमा छलफल चलाउने तयारीमा छौं,’ । प्रमुख जिल्ला अधिकारी दहालले भन्नुभयो ।
आर्थिक वर्ष २०७३/७४ मा झापामा ‘आत्महत्या न्यूनीकरण अभियान’ चलाएका तत्कालीन मेची अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले यो अभियानअन्तर्गत जिल्लामा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । हाल प्रदेश ५ का प्रमुख रहनुभएका प्रहरी नायब महानिरीक्षक रहेका अधिकारीले भन्नुभयो, ‘दुःख र पीडाको अन्त्य आत्महत्या होइन, यो जीवनको अन्त्य हो भन्ने बुझाउन स्थानीय जनप्रतिनिधि र प्रहरी परिचालन गर्न जरुरी छ ।’
बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज एन्ड रिसर्चका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा निदेश सापकोटाले सामाजिक विचलन र वैदेशिक रोजगारबाट उत्पन्न भएको यो सबैभन्दा ठूलो समस्या रहेको बताउनु हुन्छ ।
नेपाल आत्महत्या गर्ने विश्वको सातौं नम्बरमा पर्छ । नेपालमा हरेक १ लाखमा २२ देखि २५ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक पाइएको छ ।राजधानी










