विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाले बिपन्न पहिचानको काम शुरु गरेको छ । नगरपालिकाले ६ महिना अघि नै बिपन्न पहिचान कार्यबिधि बनाएर राजपत्रमामा प्रकाशित गरिसकेको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार नगरभित्रका १० वटै वाडमा गएर बिपन्नको पहिचानका लागि स्वयंसेवकहरु छनौट भएर आवश्यक प्रक्रिया शुरु गरिएको छ ।
सकेसम्म यहि आर्थिक बर्षभित्र नै बिपन्न पहिचान गरिसक्ने आफुहरुको कार्ययोजना अनुसार काम शुरु भएको ओलीले बताउनु भयो । नगरपालिकाले बिपन्नता परिचयपत्र वितरण गर्ने र त्यसको आधारमा दिन सकिने सहुलियत एवं सेवा नगरपालिकाले लिने ओलीले जनाउनु भयो । हामीले विपन्नको पहिचानका लागि फारम बनाएर स्वयंसेवक खटाउन शुरु गरेका छौ, ओलीले भन्नुभयो ।
स्वास्थ्य बिमामा ५० प्रतिशत, नगर अस्पतालमा उपचारमा ५० प्रतिशत, राशन कार्ड ब्यवस्था गरी दैनिक अत्यआवश्यकीय खाद्य सामाग्रिमा छुट दिने कार्यविधि नगरसभाले पास गरिसकेको छ, नगर प्रमुख ओलीले भन्नुभयो । उहाँका अनुसार अन्य नगरपालिकाले दिन सक्ने सेवा र सुविधाको बिषयमा नगरसभा तथा नगरपालिका बोर्ड बैठकले निर्णय लिने पनि उहाँले बताउनु भयो ।
नगरले जारी गरेको बिपन्नता पहिचान कार्यविधिमा आफनो नियिमितआम्दानीको श्रोत नभएको, आफनो आम्दानीले आफू र आफनो परिवारमा सन्तुलित भोजन ग्रहण गर्न अपूग भएको, आफनो घर, बाँस नभएको वा भएपनि सामान्य र अपर्याप्त भएको, हातमा सिप र क्षमता नभएको, शिक्षामा पहुँच नभएको, सामान्य लेखपढ भएको, प्रकोप वा रोग उपचारका कारणबाट सम्पति सकिएको ब्यक्ति वा परिवारलाइ बिपन्नको रुपमा परिभाषित गरेको छ ।
बिपन्नता छनौटमा समस्या आउन सक्ने भएकाले यसरी बिभाजन गरिएको बताइन्छ । अति बिपन्न, बिपन्न, निम्न बर्गिय, निम्न मध्यमबर्गीय गरेर ४ भागमा बिभाजन गरी त्यसै अनुसार परिचयपत्र र सेवा सुविधा उपलब्ध गराउने पनि ओलीको भनाइ रहेको छ । यो अति संवेदनशिल र महत्वपुर्ण भएकाले नगरपालिकाले यसलाइ महत्वपुर्ण योजना तथा कार्यक्रमको रुपमा लिएको छ, ओलीले भन्नुभयो ।
वडाध्यक्षको प्रत्यक्ष निगरानीमा वार्डमा खटिने स्वयंसेवक तथा सर्वेक्षकले फारम भरेर ल्याएपछि त्यस अनुसार छनौट हुने जनाईएको छ विपन्न तथा वेरोजगारको प्रमाणीकरण प्रशासकिय अधिकृतले गर्ने र प्रमाणीकरण गरिएको अभिलेख प्रशासकिय अधिकृतले नगर प्रमूख समक्ष पेश गर्ने बताइएको छ ।
यस सम्बन्धिको कार्यबिधि पास भइसकेकाले परिचयपत्र पाउनेहरुको नाम राजपत्रमा प्रकाशित भएपछि सुविधा दिन शुरु गरिने नगरपालिकाले जनाएको छ । विपन्न पहिचान भएकाहरुलाइ परिचयपत्र दिएर स्थानीय राजपत्रमा छापिने छ । हालै नगरपालिकाले सार्वजनिक गरेको घरधुरी सर्वेक्षण अनुसार नगरपालिकामा २२ हजार ४ सय ४२ घरपरिवारको बसोबास रहेको छ ।










