अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा बस्ने नेपालीलाई भन्सारको जाँचपासमा कडाइ नभएर सहजीकरण गरेको बताएका छन्।
लगानी सम्मेलनको तयारीका लागि बेलायतमा एक कार्यक्रममा सहभागी हुन पुगेका उनले नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्रै स्वदेश भित्र्याउन विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका हुन्।
मन्त्री खतिवडाका प्रेस सयाेजक यमन पाैडेलका अनुसार उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको भन्दै ठूलो मुलुकमा चेकजाँच हुँदा सामान्य मानिने भए पनि हामीकहाँ त्यही चेकजाँचको विषयलाई ठूलो बनाइएको बताएका हुन्।
गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोषमार्फत लगानी गर्न मन्त्री खतिवडाले आग्रह गरेका थिए।
त्यस्तै कार्यक्रममा उनले गैरआवासीय नेपालीको समस्या र सम्भावना आएको भन्दै नेपाललाई लगानीको आवश्यकता परेको र त्यसमा तपाईंहरुले सहयोग गर्न सक्ने बताए।
विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशले पनि पुँजी खाता नियमन गर्ने व्यवस्था भएको उनले स्मरण गराए।
करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले जानाकारी दिए। । इतिहासमै पहिलो पटक यति धेरै आर्थिक वृद्धि हुने भन्दै उनले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए।
मूल्यवृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिक वृद्धि समग्रमा वैदेशिक व्यापारबाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरआवासीय नेपालीलाई उनले स्पष्ट पारे।
वैदेशिक व्यापार समस्या अहिले सृजना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उनले भनाइ छ। विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले बताए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए। २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन गएका हुन्।
सम्मेलनमा डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पुर्याउने उद्देश्य छ।
बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाल खबर बाट










