विष्णुप्रसाद पोखरेल

दमक । झापाको एउटा गाँउपालिकाले समयमा नआउने शिक्षकको तलव काट्ने भएको छ भने परिक्षामा आफ्नो बिषयमा धेरै बिद्यार्थी पास गराउनेलाइ प्रोत्साहन स्वरुप थप तलव दिने भएको छ । हल्दिबारी गाँउपालिकाले शिक्षक प्रोत्साहन सम्बन्धी मापदण्ड, २०७५ राजपत्रमा प्रकाशित गरेसंगै यो कार्यन्वयनमा आएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई कार्यसम्पादनका आधारमा मौद्रिक पुरस्कार तथा दण्ड समेतको व्यवस्था गरी समग्र गाउँपालिका क्षेत्रभित्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दोस्रो गाउँसभाबाट पारित नीति तथा कार्यक्रम अन्र्तगत नै मापदण्ड लागु भएको गाँउपालिका उपाध्यक्ष एवं शिक्षा समितिका संयोजक डम्बर गिरीले बताउनु भयो ।

गाँउपालिकाको शिक्षा शाखाले तोकेको ढाँचामा सबै विद्यालयका सबै शिक्षकहरुले आफ्नो विद्यालयका प्रधानाध्यापकसँग वार्षिक कार्यसम्पादन करार गर्नु पर्ने नियम बनाईएको पाईएको छ । विद्यालय समयमा नआउने शिक्षकको तलव कटौती र विद्यालय समयभन्दा बढि पढाउनेलाइ थप सुविधा दिने मापदण्डमा उल्ले छ ।

सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिले आफ्नो विद्यालयमा गणित, अंग्रेजी, विज्ञान लगायत अन्य विषयमा विद्यालय समयभन्दा बाहेकको समयमा थप कक्षा सञ्चालन गर्न आवश्यक छ भनी ठहर गरेमा गाउँ शिक्षा समितिमा सिफारिससाथ अनुुमतीका लागि पेश गर्नु पर्नेछ, गिरीले भन्नुभयो ।

सामुदायिक बिद्यालयमा कम बिद्यार्थी पास हुने अग्रेजी, गणित, बिज्ञान लगायतका बिषयमा ८० प्रतिशत वा सोभन्दा बढी उपलब्धि हाँसिल गर्ने सम्बन्धित विषयका विषय शिक्षकलाई प्रति कक्षा तीन सय पचास रुपैंयाका दरले गाँउपालिकाले थप सुविधा उपलब्ध गराउने छ, गिरीले जनाउनु भयो ।

६० प्रतिशत वा सोभन्दा बढी ७९ प्रतिशतसम्म उपलब्धि हाँसिल गर्ने सम्बन्धित विषयका विषय शिक्षकलाई प्रतिकक्षा तीनसय रुपैंयाका दरले, ४० प्रतिशत वा सोभन्दा बढी ५९ प्रतिशतसम्म उपलब्धि हाँसिल गर्ने सम्बन्धित विषयका विषय शिक्षकलाई प्रतिकक्षा दुईसय पचास रुपैंयाका दरले र यो भन्दा कम उपलब्धि हासिल गर्नेलाइ सुविधा नदिइने मापदण्डमा उल्लेख छ ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष धिमिरेका अनुसार मासिक कार्यसम्पादन करारमा ८० प्रतिशत वा सोभन्दा बढी उपलब्धि हाँसिल गर्ने प्रधानाध्यापकलाई मासिक तीन हजार रुपैंयाका दरले, मासिक कार्यसम्पादन करारमा ६० प्रतिशत वा सोभन्दा बढी ७९ प्रतिशतसम्म उपलब्धि हाँसिल गर्ने प्रधानाध्यापकलाई मासिक दुई हजार पाँच सय रुपैंयाका दरले प्रोत्साहन रकम उपलब्ध गराइने छ ।

यसैगरी मासिक कार्यसम्पादन करारमा ४० प्रतिशत वा सोभन्दा बढी ५९ प्रतिशतसम्म उपलब्धि हाँसिल गर्ने प्रधानाध्यापकलाई मासिक दुई हजार रुपैंयाका दरले प्रोत्साहन रकम उपलब्ध गराउने र ४० प्रतिशतभन्दा कम उपलब्धि हाँसिल गर्ने प्रधानाध्यापकलाई मासिक प्रोत्साहन रकम उपलब्ध नगराइने घिमिरेले जनाउनु भयो ।

विद्यालयमा ढिला आउने शिक्षकको तलव रकम कट्टा गर्ने बिधि पनि मापदण्डमा स्पष्ट पारिएको छ । विद्यालय लाग्ने दिनमा विद्यालय समयभन्दा कम समय विद्यालयमा उपस्थित हुने शिक्षकको जति अवधि (घण्टा अथवा मिनेट) ले विद्यालयमा रहनु पर्ने समयमा कम हुन आउँछ सो समयलाई शिक्षकले पाउने दैनिक तलब रकमसँग आवद्ध गरी निज शिक्षकले पाउने मासिक तलब रकमबाट कटाइने छ, गाँउपालिका अध्यक्ष रविन्द्र लिङ्देनले भन्नुभयो ।

विद्यालयमा रहनुपर्ने समय र विद्यालयमा रहेको समयको गणना सम्बन्धित विद्यालयको विद्युतीय हाजिरीबाट गरिने लिङ्देनले जनाउनु भयो । कुनै कारणले विद्यालय समयमा कुनै शिक्षक विद्युतीय हाजिरी प्रणालीमा आवद्ध हुन नसकेमा सो समयको लगबुक शिक्षा शाखाबाट तोकेको ढाँचामा अख्तियारवालाबाट प्रमाणित गराई राख्नु पर्ने मापदण्ड बनाएका छौ, उहाँले भन्नुभयो ।