काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू र स्वर्गीय अधिकारीबीच निकै आत्मीय सम्बन्ध रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘उहाँ त नातामा पनि मेरो दाजु नै हुनुहुन्थ्यो । हाम्रो क्षेत्रमा उहाँको ठूलो प्रभाव छ । उहाँ वास्तवमा हामी युवाहरुको लागि रोल–मोडल नै हुनुहुन्थ्यो ।’

पौडेलले अधिकारीलाई अत्यन्तै सह–हृदय, मिलनसार र सरल व्यक्तिको रुपमा चित्रण गरे । उनले भने, ‘म त उहाँको नातामा भाई पर्छु, तर उहाँ नातामा भाई नपर्नेहरुलाई पनि आफू दाई भएको महशुस गराउनुहुन्थ्यो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको सुनाए । उनले भने, ‘अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो, ०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले पोखरामा पनि राम्रो छवि बनाउनुभएको थियो ।’

अधिकारीमा विकासप्रति अत्यन्तै गहिरो लगाव रहेको पनि उनले सुनाए । उनले भने, ‘उहाँले विकास समितिको सभापति हुँदा धेरै काम गर्नुभएको छ । उहाँले विकाससम्बन्धी जागरण नै चलाउनुभएको थियो । त्यतिमात्रै होईन, उहाँ धेरै सिर्जनशील हुनुहुन्थ्यो । साहित्यमा पनि त्यतिकै पोख्त हुनुहुन्थ्यो । सिर्जनशील व्यक्तित्व हुनुहुन्थ्यो ।’

समाज र देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी अधिकारीमा रहेको उनले सम्झिए । उनले भने, ‘समकालिन नेताहरुमा उहाँ नेपाल बुझेको नेतामा पर्नुहुन्थ्यो । उहाँले प्रविण गुरुङको सडक दुर्घटनामा निधन हुँदा निडरता प्रस्तुत गर्नुभएको थियो । राजाको विरुद्धमा आन्दोलन नै चलाउनुभयो ।’

अधिकारीमा एउटा राजनीतिज्ञमा हुनुपर्ने सबै गुणहरु रहेको पनि सुनाए । उनले भने, ‘उहाँ सबै पक्षमा अब्बल हुनुहुन्थ्यो । उहाँ बाँचेको भए वाईडबडी प्रकरणमा आफूलाई निश्कलंक सावित गर्नुहुन्थ्यो ।’ पर्यटनमन्त्री भैसकेपछि अधिकारीले यो क्षेत्रको विकासको लागि एक वर्षमा धेरै काम गरेको उनले सुनाए ।

उनले भने, ‘यो एक वर्षमा उहाँले धेरै ठूलो काम गर्नुभएको थियो । एयरपोर्ट सुचारुदेखि लिएर नयाँ एयरपोर्ट बनाउनको लागि उहाँले धेरै काम गर्नुभएको थियो ।’ अधिकारी कम्युनिष्ट भएपनि परम्परावादी नभएर आधुनिक भएको पनि उनले सुनाए ।

उनले मन्त्री अधिकारीको दुर्घटनामा भएको निधन र वाईडबडी प्रकरण दुवै फरक विषय भएकोले उक्त प्रकरणको बारेमा निश्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने, ‘यो प्रकरण तुहिनुहुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय मन्त्री अधिकारी यो प्रकरणमा निर्दोष हुनुहुन्थ्यो भनेर बोलिसक्नुभएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले दोषी पत्ता लगाउनको लागि सहयोग गर्नुपर्छ । उहाँले यो प्रकरणको छानबिन गर्नको लागि शाही आयोगजस्तो एउटा आयोग बनाउनुभएको थियो । तर, अहिलेसम्म आयोगका सदस्यहरु नियुत्ती पत्रसमेत पाएका छैनन् । यो प्रकरणमा अख्तियारले छानबिन गर्छ । महालेखाले पनि खोजी गर्नुपर्छ ।’

फरक प्रसँगमा उनले पार्टीभित्र अहिले केही अन्तरविरोध देखिएकोजस्तो भएपनि पार्टीलाई मिलाएर एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीलाई बलियो बनाउनुपर्छ । यसको लागि पार्टी सभापतिजीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । बहुमत र अल्पमतको आधारमा होईन, एकमतले निर्णय गराउनुपर्छ ।’ रातो पाटि बाट साभार