बि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गरे ।
२००८ सालदेखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका अधिकारी पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका सहोदर भाइ हुन् । नेता अधिकारीले विराटनगरको आर्दश माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए । त्यसपछि भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका नेता अधिकारीले बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्र, दर्शन शास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थ शास्त्रमा एमए र कानुनमा स्नातक गरेका छन् ।

नेता अधिकारीले ल्याएका लोकप्रिय कार्यक्रम तत्कालिन नेकपा एमालेको ९ महिने शासनकाल अर्थात २०५१ सालमा नेता अधिकारी पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री भए । उनी अर्थमन्त्री भएपछि ‘वृद्धभत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नेता अधिकारीले नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका थिए । त्यस्तै नेता अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाण्डु सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी लगाउतका कार्यक्रम ल्याएर जनतामा बेजोड उत्साह ल्याएका थिए ।
त्यहि कार्यक्रमले गर्दा अघिल्ला वर्षसम्म तत्कालीन एमालेका नेताहरूमा आफ्नो क्षमताको कुरा उठ्दा २०५१ सालको सरकारले गरेका कामको प्रसङ्ग दोर्होयाई रहन्छन् । ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सञ्चालन उनकै पहिलो कार्यकालबाट सुरु भएको हो । पहिलोपल्ट जेष्ठ नागरिक र सुत्केरीलाई भत्ता दिएपछि प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार सबैभन्दा लोकप्रिय बनेको थियो ।
नेता अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसदमा निर्वाचित भएका उनी भने दोस्रो संविधानसभामा समानुपातिक सभासद बने । पटक–पटक अर्थमन्त्री भएका अधिकारीसँग उपप्रधानमन्त्रीसहित कानुन, उर्जा, वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेको अनुभव थियो ।










