काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्राञ्जली दिइएको छ । अधिकारीको पाथिृव शरीरमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । गएराति उपचारका क्रममा निधन भएका अधिकारीलाई श्रद्धाञ्जली दिन बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । आज मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । महोत्तरीमा जन्मिएका अधिकारी २०५२ सालमा पहिलो पटक आफ्नै दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकारमा अर्थमन्त्री भएका थिए । अर्थमन्त्री हुँदा उनले बृद्ध भत्ता र आफ्नो गाउँआफै बनाउँ जस्ता महत्वपूर्ण योजनालाई सार्थक तुल्याउन भूमिका निर्वाह गरेका थिए । उनले अघि बढाएको योजना आजसम्म पनि कार्यान्वयनमा छन् भने यही योजनाका कारण उनी जनता सामु लोकप्रिय भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थशास्त्र र कानून अध्ययन गरेका अधिकारीले २००८ सालमा राजनीतिक दलमा आवद्ध भएका थिए । चार वर्ष भूमिगत, तीनवर्ष निर्वासन र तीनवर्ष बन्दी बनेर राजनीतिक जीवन बिताएका अधिकारीका केही जीवनसँग सम्बन्धित पुस्तक समेत प्रकाशित छन् । २०७० सालको व्यवस्थापिका संसदका सदस्य समेत रहेका अधिकारी त्यसपछि राजनीतिक जीवनबाट बाहिर रहेका थिए ।

डिसी नेपाल बाट