काठमाण्डु, २३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली चढेको यति एयरलाइन्सको जहाज मंगलवार १० मिनेट आकाशमै होल्ड भयो । झापाको भद्रपुरबाट साँझ साढे चार बजे उडेको यति एयरलाइन्सको ९२६ नम्बर उडानको जहाज करिब साढे पाँच बजे काठमाण्डु अवतरणका क्रममा होल्डमा पर्यो ।
भीभीआईपीको उडान छ भनेर टावरलाई पनि कुनै जानकारी नहुँदा उक्त जहाज १० मिनेट होल्डमा परेको थियो ।
भीभीआईपीको उडान होल्डमा राखेको विषयमा पर्यटन मन्त्रालयले बुधवार राज्यमन्त्री स्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको हो ।
आचार्यको संयोजकत्वमा पर्यटन मन्त्रालयकै कानुन महाशाखाका उपसचिव सूर्यवंश कँडेल, प्रशासन महाशाखाका उपसचिव प्रकाश शर्मा ढकाल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक प्राधिकरणका निर्देशक नवीना कर्माचार्य रहेका छन् ।
प्रधानमन्त्री चढेको विमान होल्ड भएको विषयमा विमानस्थल कार्यालयले भने भीभीआईपी उडान थाहै नपाएको प्रतिक्रिया दिएको छ । यस्तो अवस्थामा सम्बन्धित वायुसेवाको पाइलटले जानकारी गराउनुपर्ने हुन्छ । तर पाइलटबाट पनि जानकारी नआएको स्रोतले जानकारी दिएको छ ।










