बिर्तामोड । दुई करोड ५५ लाख रुपैंयाको लगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन बन्ने भएको छ । बिर्तामोड नगरपालिकाले ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

भवनको शिलान्यास प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फागुन ३० गते गर्ने कार्यक्रम रहेको मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। भवन भूकम्प प्रतिरोधात्मक तीन तलाको बन्ने प्रहरी निरीक्षक राईले बताए। समुदाय–प्रहरी साझेदारी अन्र्तगत सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत प्रदेश ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल, १० थान ब्रेथलाइजर, व्लहील लक १० थान र ७ सय थान चालक र परिचालकलाई पोशाक वितरण गरिने कार्यक्रम समेत रहेको सडक दुर्घटना न्यूनिकरण महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अभियानले ट्राफिक प्रहरीलाई ३५ लाख मुल्य बराबरका सामग्री हन्तान्तरण गर्ने जनाइएको छ । सोही अवसरमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने अभियान प्रदेश–१का १४ वटै जिल्लामा सञ्चालन गरिने एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश गौतमले बताए । .उनले भने, ‘झापामा प्रहरी महानिरीक्षकले उद्घाटन गर्नुहुन्छ यो अभियान प्रदेश १ का सबै जिल्लामा एकै साथ सञ्चालन हुन्छ ।’