प्लेजुङ – ताप्लेजुङको तीर्थस्थल पाथीभरा क्षेत्रमा आउँदो चैत्र १ गतेदेखि मदिरा बिक्री वितरण निषेध गरिने भएको छ । साथै पाथीभरा जाने गाडीमा पाथीभरासम्बन्धी गीत र भजन बजाउनु पर्ने अनिवार्य गरिएको छ । सर्वपक्षीय भेलाले चैत्र १ गते देखि भालुगौंडे, काफ्लेपाटी, माथिल्लो फेदी लगायतका क्षेत्रमा मदिरा बिक्री वितरण बन्द गर्ने निर्णय गरेको छ । निर्णयको अटेर गरी लुकिछिपी मदिरा बिक्री वितरण गरेको पाइएमा प्रशासनले नियान्त्रणमा दिने र आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।

तीर्थयात्रीको मागलाई सम्बोधन गर्दै मदिरालाई नियन्त्रण गर्ने निर्णय गरिएको बताउँदै प्रजिअ भण्डारीले भन्नुभया,े‘धार्मिकस्थलमा मदिरा बिक्री वितरण राम्रो होइन, त्यसैले मदिरा निषेध गर्न लागेका हौँ’।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मदिरा बिक्रीवितरणमा रोक लगाएपछि भक्तजनहरूको उपस्थिति पनि बाक्लिने प्रशासनको बुझाइ रहेको छ । यसैबीच पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा पाथीभराको भजन, मूर्ति र स्टिकर अनिवार्य गरिने भएको छ ।

फागुन ३० गतेदेखि प्रदेश नं. १ का सवारी चालक तथा सह–चालकलाई पोसाक अनिवार्य गर्ने अभियानको उद्घाटनकै अवसरमा भजन, मूर्ति र स्टिकर अनिवार्य गर्न लागिएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताउनुभयो ।

चैत्र १ गतेपछि सवारी चालकहरूले अनिवार्य पाथीभराको भजन गाडीमा बजाउनु पर्ने छ । साथै पाथीभराको सानो मूर्ति र स्टिकर पनि सवारी साधनमा राख्नुपर्ने गरी यातायात व्यवसायीहरू सँग पनि सहमति भएको डिएसपी थापाले जानकारी दिनुभयो ।

‘प्रदेश नं. १ मा फागुन ३० गतेदेखि सवारी चालक तथा सह–चालकलाई अनिवार्य पोसाक लगाउने अभियानको सुरुवात गरिन लागिएको बताइएको छ । सोही अवसरमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा देवीको भजन तथा मूर्ति र स्टिकर टाँस्ने कार्यक्रमको पनि उद्घाटन गर्न लागिएको हो’ डीएसपी थापाले भन्नुभयो, ‘यसले पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई पनि राम्रो हुन र सवारी चालकहरू पनि जिम्मेवार बन्न सघाउनेछ ।’

सवारी साधनमा बजाउने भजनसहितको पेनड्राइभ भने पाथीभरा क्षेत्र विकास समितिले प्रदान गर्ने बताइएको छ । जसका लागि सवारी चालकहरूले सवारी साधनको ब्लु–बुकको प्रतिलिपिका साथ पाथीभरा क्षेत्र विकास समितिमा सम्पर्क राख्नुपर्ने क्षेत्र विकासका कार्यकारी निर्देशक उदय भट्टराईले बताउनुभयो ।

‘पहिलो चरणमा हामी निःशुल्क भजनसहितको पेनड्राइभ उपलब्ध गराउँछौँ’, कार्यकारी निर्देशक भट्टराईले भन्नुभया,े ‘जसका लागि सवारीसाधनको ब्लु–बुकसहित उपस्थित हुनुपर्छ ।’

यसका साथै ताप्लेजुङमा सञ्चालित होटलहरूमा पनि पाथीभराको भजन र मूर्ति अनिवार्य गरिएको बताइएको छ ।