झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ । झापालाई तराईबाट अल्गाएर पहाडसँग दाजेर सार्वजनिक बिदा दिएपछि जिल्लामा होली पर्वको बिदामा विवाद देखिएको थियो । जिल्लाको बिदाको बिषयमा सञ्चारमाध्यममा व्यापक समाचार प्रकाशन भएपछि अन्नत तराईको जिल्लासरह झापामा चैत ७ गते विहीवार सार्वजनिक बिदा दिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधवार सरकारी कार्यालय खुल्ला रहने, विहीवार कार्यालय बिदा हुने बताए । गृहले बिदाको निर्णय सच्याएको बिषयमा प्रजिअ दाहाल समक्ष प्रश्न राख्दा उनले भने, ‘भोली खुल्ला हो, पर्सि बन्द हो, अहिले त्यति नै बुझ्नुहोस ।’ यता प्रशासन स्रोतका अनुसार झापाबासी विहीवार होली मनाउने हुदाँ गृहकै आदेशमा बुधवारको विदा रद्द गरी विहीवार बिदा दिन प्रशासन कार्यालय झापालाई आदेश दिएको हो ।

बुधवार किन विहीवार विदा भन्ने भ्रममा स्थानीय तह

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघीय सरकारले गरेको सार्वजनिक बिदा उल्टाउन नसक्दा आन्तिरक निर्णय बमोजिम झापाका केही स्थानीय तहले दुई दिन नै होलीको बिदा दिएको छ । बुधवार खुल्ला होइन सार्वजनिक बिदा भन्नेमा झापाका १५ वटै स्थानीय सरकार जानकार छन् ।

तर, अन्तिम समयमा आएर झापा प्रशासनले सार्वजनिक बिदाको मिति परिर्वतन गर्दा स्थानीय तहमा भ्रम जस्ताको त्यस्तै छ । कतिपय स्थानीय तहले बुधवार विदा दिएको छ भने, कतिपयले बुधवार र विहीवार दुवै दिन बिदा दिएको देखिन्छ ।

स्थानीयको परम्परागत धार्मिक रितीरिवाज अनुसार पहाडमा मनाउने भोली पल्ट झापामा होली मनाउने चलन बमोजिम भद्रपुर नगरपालिका, गौरदाह नगरपालिका, कचनकवल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाले विहीवार स्थानीय बिदा दिएको जनाइएको छ ।

सो नगर तथा गाउँपालिकाले सूचना प्रकाशन गरेर स्थानीय विदा दिएको हो । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार बुधवार सरकारको र विहीवार स्थानीय तहले बिदा दिएको हो ।

-पार्थ मण्डल