बुटवल, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए । तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे ।

विज्ञानले ठूलो करामत गरिसकेको भन्दै त्यही करामतले आफू अहिले प्रधानमन्त्री बनेको बताए । ‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु’ उनले भने । सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन्’ प्रधानमन्त्रीले भने, ‘तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ ।’

सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए । विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए । दुषित पानी,पोषणयुक्त खानाको अभावमा,गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित,अस्वस्थ खानाले रोगहरु बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गरे । मान्छे जति कम सुत्छ, उति छिटो मर्छ भन्दै थकाई मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्न पनि आग्रह गरे ।

काठमान्डू टुडे बाट साभार