विष्णुप्रसाद पोखरेल दमक ।  दमकमा प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत बाङ्मय सङ्गोष्ठीको तयारी तिब्र रुपमा भएको छ । नेपाल प्राज्ञ प्रतिष्ठान र दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सङ्गोष्ठीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित बनेको दमक प्राज्ञ प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले बताएकाछन् ।

नेपाल प्राज्ञ प्रतिष्ठानले ७ वटै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको र १ नम्बर प्रदेशबाट शुरु हुन लागेको जनाउदै यसलाइ सफल बनाउनका लागि बिभिन्न उपसमितिहरु बनाएर काम शुरु गरिएको अधिकारीले जनाए । प्रदेशको सास्कृतिक, भाषिक तथा यहाँ रहेका पुराना आदिबासी जनजातीहरुको बिभिन्न पक्षहरुको बिषयमा बिज्ञहरुद्धारा खोजमूलक कार्यपत्रहरु प्रस्तुत हुने बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

किरात मन्धुकमा बिषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिश्चन्द्र लावतीले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्र प्रस्तुत हुनु अघि यस जातीका दुइजना सबैभन्दा जेष्ठ नागरिकलाइ सम्मान समेत गरिने पनि सार्वजनिक गरिएको छ ।

यसैगरी कोसी प्रस्रवणक्षेत्रको धार्मिक एवं पर्यटकीय स्थलहरुको खोज गरेर यस बिषयमा समेत कार्यपत्र प्रस्तुत हुने बताईएको छ । यो १ नम्बर प्रदेशका लागि पर्यटकीय गुरुयोजनाको रुपमा दस्तावजीकरण हुनसक्ने छ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइ समेत कार्यक्रममा सहभागि हुनु हुनेछ । स्नाकोत्तर क्याम्पस बिराटनगरका प्राध्यापक डा. सोमप्रसाद खतिवडाले यस बिषयको कार्यपत्र प्रस्तुत गर्नेछन् ।

तीनदिने कार्यक्रममा नेपाल उपत्यका र राजवंशी समुदायको सास्कृतिक अन्तर सम्बन्धको बिषयमा प्राध्यपक डा. डिल्लि प्रसाइले, कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवनको बिषयमा राजेश्वर थापाले कार्यपत्र प्रस्तुत गर्ने, सन्थाल लोकसाहित्यको वर्तमान अवस्था दमक बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख उत्तम भट्टराइले कार्यपत्र प्रस्तुत गर्ने र धिमाल लोकसाहित्यका विशेषताहरुको बिषयमा डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गर्ने निश्चित बनेको पनि बताइएको छ ।

प्रधानमन्त्री ओली सहभागि हुने कार्यक्रम र प्रदेशकै बिशिष्ठ प्रकारको कार्यक्रम हुने भएकाले नगरपालिकाले आफ्नै कार्यक्रमको रुपमा लिएर यसलाइ सफल बनाउन तयारी शुरु गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए । उनका अनुसार यसको निष्कर्षको रुपमा दमक घोषणापत्र समेत जारी हुने भएकाले यसलाइ धेरै नै महत्वपुर्ण कार्यक्रमको रुपमा लिइने उनको भनाइ छ ।