काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकाले लगानीको राम्रो अवसर रहेको बताएका छन् । नेपाल लगानी सम्मेलन २०७५ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीको अवसरबारे बताएका हुन् ।

‘नेपालमा अहिले स्थिर सरकार, नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म तपाईंहरूलाई मेरो विकासको सपनालाई मूर्तता प्रदान गर्न ७५ वटाभन्दा बढी आकर्षक परियोजना प्रस्तूत गर्दैछु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समयदेखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पूरा हुँदैछ भन्ने आफूलाई विश्वास लागेको बताए । ‘विभिन्न देशबाट आएका लगानीकर्तालाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवनस्तर उकास्न सहयोग गर्नुस् भन्ने आह्वान समेत गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले आधार वर्षको रुपमा गएको १ वर्षलाई नीतिगत र कानूनी सुधार वर्षको रुपमा लिएको बताए । ‘यसबीच हामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानूनको निर्माण गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ कानूनी तथा नीतिगत संरचनाले विदेशी लगानीलाई उत्प्रेरित गर्ने वातावरण बनाएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताए । ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको बताए ।

‘नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने मेरो सन्देश हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सुरक्षित महसूस गर्नुहोस् र अवसरको फाइदा लिनुहोस् । तपाईंको लगानी संरक्षित र मुनाफा सुरक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरू वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत छन् ।’