काठमाडौं, चैत १६
लगानी सम्मेलनका क्रममा केही लगानीकर्ताले नेपालमा लगानी गर्ने घोषणा गरेका छन् । सम्मेलनको दोस्रो दिन आज कम्तीमा विभिन्न १२ वटा परियोजनामा बोर्ड र लगानीकर्ताविच समझदारी र सम्झौता हुदैछ ।
सार्वजनिक तथा निजी दुवै क्षेत्रका विदेशी लगानीकर्ताले कृषि, जलविद्युत, पर्यटन र सडक परियोजनामा लगानी सम्झौता गर्नेछन् । केही ‘गेमचेन्जर’ परियोजनामा लगानी गर्न विकास साझेदारसँग समझदारी (एमओयू) हुने लगानी बोर्ड सञ्चालक समितिका एक सदस्यले जानकारी दिनुभयो । यसैविच, सूर्य नेपालका प्रबन्ध–निर्देशक अभिमन्यु पोद्दारले करिब ६ अर्ब लागतमा लक्जरी होटेल खोल्ने घोषणा गर्नुभएको छ । उहाले तत्काल कुन ठाउमा खोल्ने नबताएपनि सो सम्वन्धि सम्झौतामा आज हस्ताक्षर हुने सम्भावना बलियो छ । उपभोग्य सामग्रीमा समेत लगानी विस्तार गर्ने योजना रहेको उहाले सुनाउनु भयो ।
यस्तै भारतको प्रसिद्ध मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने बताउनु भयो । मुथुटले नेपालको बैंक नै किन्न सक्नेसमेत जानकारी गराउनु भएको छ । उहाले नेपालको शिक्षा क्षेत्रमा समेत लगानी गर्ने अवसर खोजिरहेको सम्मेलनमा उल्लेख गर्नुभयो ।
सुडानका लागि नेपालका अवैतनिक महावाणिज्यदूत अब्बास अलबखित माउसाले नेपालमा ठूलो होटेलमा लगानी गर्ने उद्घोष गर्नुभयो। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा एचएच बजाजका प्रबन्ध–निर्देशक शेखर गोल्छाले अटोमोबाइलको एसेम्बलसँग सम्बन्धित उद्योग खोल्ने बताउनु भयो । सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत साइक बोलसोभरले झापामा पाँचतारे होटल खोल्ने घोषणा गर्नुभयो ।जनताटाइम्स











