विष्णुप्रसाद पोखरेल

दमक । झापाको गौरादहस्थित स्कूलचौनमा रहेको कृषि पर्यटन केन्द्रमा ‘नमुना पाहुनाघर’ बनाउने काम शुरु भएको छ । साना किसान सहकारी संस्था महारानीझोडाले प्रवद्र्धन गरेको यहाँ रहेको सामुहिक सहकारी खेतीलाइ सरकारले नेपालको पहिलो कृषि पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेपछि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायको सहयोगमा पाहुना घर बनाउन शुरु गरिएकोे हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतवार पुर्व कानूनमन्त्री समेत रहनु भएका महान्याधिवक्ता अग्नी खरेलले ‘नमुना पाहुनाघर’को शिलन्यास गर्नु भएको हो । खरेलले कृषि क्षेत्रमा बनेको पहिलो पाहुनाघरको शिलन्यास गर्दै नाम जस्तै नमुना रुपमा यस क्षेत्रको पहिचान अभिबृद्धि हुने गरी काम हुनेमा आशाबादी रहेको बताउनु भयो । अब यहि केहि दिन बसेर कृषिको अध्ययन गर्न खोज्नेलाइ गाँस र बाँसको चिन्ता हुनेछैन, उहाँले भन्नुभयो ।

परम्परागत रुपमा हुँदै आएको खेती प्रणालीलाइ छाड्न र जग्गालाइ एकीकृत गरेर चाक्लाबन्दि गरेर खेती गर्न पनि उहाँले आग्रह गर्नु भयो । आलीधुरको सिमना बनाउने सोच त्यागेर त्यो हटाएर डिजिटल रुपमा नक्सा बनाएर अघि बढ्न उहाँले सुझाव दिनु भयो । आलीधुरमा झगडा गर्न छाडेर सबैले आलीधुर मासेर जग्गालाइ एकीकृत गरेर उत्पादन बढाउन तर्फ लागौ, उहाँले भन्नुभयो ।

स्थानीयको जग्गा एकीकृत गरेर चाक्लाबन्दि मार्फत ८० बिगाह जमिनमा यहाँ सामुहिक सहकारी खेती हुँदै आएको छ । बिभिन्न उन्नत प्रजातीका कृषि बीउ बिजन उत्पादन गर्ने र किसानसम्म पुर्याउने कार्य गर्दै आएको अवस्थामा ६ महिना अघि कृषि पर्यटन क्षेत्र घोषणा भएपछि पर्यटकीय पुर्वाधार बनाउन थालिएको सहकारीले जनाएको छ । पोखरी निर्माण सम्पन्न भएर यहाँ बोटिङ शुरु गर्न लागिएको बताईएको छ ।

सहकारीकी अध्यक्ष मीना ढकालका अनुसार दुइ महिनाभित्रमा पाहुनाघर निर्माण सम्पन्न हुनेछ । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले यसका लागि ५० लाख रुपिया बजेट दिएको र बाँकी आफुहरुले खर्च गर्ने उहाँले बताउनु भयो । आधुनिक र सुविधा सम्पन्न घरहरु बन्नेछन्, ढकालले भन्नुभयो । कम्तिमा पनि दैनिक ५० जनासम्म पर्यटकहरु यहाँ आएर बास बस्नसक्ने अवस्था आउदो आर्थिक बर्षको शुरुवातदेखि नै हुने पनि उहाँले बताउनु भयो ।

सामुहिक सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाइका अनुसार गतबर्ष नमुना सामुहिक सहकारी खेती अवलोकनका लागि टाढाबाट दुइसयवटा बसमा पर्यटकहरु आएको रेकर्ड रहेको छ । बाँस बस्ने ठाँउ नभएर धेरैले यस बिषयमा गुनासो गरेकाले ‘होम स्ट’े सम्बन्धि तालिम समेत आयोजना गरिएको उहाँले जनाउनु भयो । अब यहाँ आउने पर्यटकहरुले बस्न र खानाको असुविधाले अन्यत्र जानु पर्दैन, चापागाँइले भन्नुभयो ।

नेपालकै नमुना सामुहिक सहकारी खेतीको रुपमा चिनिएको यस क्षेत्रको अवलोकनका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, बिभिन्न राजदूतावासका राजदूतहरु लगायत बिशिष्ठ ब्याक्तिहरु समेत आउनु भएको सहकारीका ब्यवस्थापक चिरञ्जिबि भण्डारीले बताउनु भयो । उहाँका अनुसार अहिले सरकारको सहयोगमा नै मकैको चीउरा बनाउने मिल निर्माण काम समेत धमाधम भइरहेको छ ।