(पार्थ मण्डल) झापा । भारतले नेपाली भूमिमै सडक किलोमिटर पिलर राखेपछि प्रहरीकै अगाडी स्थानीय युवाले सो पिलर भत्काएका छन् । पूर्वी नेपालको मेचीनगरस्थित काँकडभिट्टाको मेची पुल नजिकै भारतले सिलगुढी र बागडुग्राको दुरी सहितको पिलर स्थानीय युवाहरूले भत्काएका हुन् ।
नेपाल भारत सीमा सम्झौता अनुसार दुई देशको दशगजा क्षेत्रमा कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख छ । तर, भारतले नेपाली भूमिमै आएर सडक किलोमिटर पिलर राखेपछि सर्वत्र विरोध हुन थालेको छ ।
मेची पुलमा दिनरात सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ भएकै स्थानदेखि ५० मिटर भित्रै सो पिलर राखिएको हो । नेपाली भूमिमा पिलर गाडिदा समेत छेउमै तैनाथ सुरक्षाकर्मी मुकदर्शक बनेको स्थानीयको भनाई छ ।
ए डिभी कम्पनीमार्फत भारत सरकारका रेखदेखमा निर्माण भइरहेको नयाँ मेची पुल बनाउने ठेकेदार कम्पनीले सो एनएच ३२७बी सिलगुढी (३२) र बागडोग्रा (१९) किलोमिटर उल्लेख गरेर पिलर राखिएको छ । आफूलाई यस विषयमा जानकारी नभएकाले बुझ्नका लागि लगाइएको पनि जनाए । यता झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भारतले यसरी नेपालतर्फ पिलर गाड्न नपाउने बताए । झापा प्रशासन यस विषयमा गम्भीर हुर्दै बिहीबार नेपाली भूमिबाट पिलर हटाइएको प्रजिअ दाहालले भने ।
पिलर हटाउन युवा सङ्घको चेतावनी
युवा सङ्घ झापाले नेपाली भूमिबाट सडक किलोमिटर पिलर हटाउन चेतावनी दिएको थियो । युवा सङ्घ झापाका अध्यक्ष शम्भु भण्डारीले आफ्नो फेसबुक एकाउन्ट पेजमा पिलर राखेको फोटो हाल्दै यस्तो चेतावनी दिएका थिए । । उनले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई बिहीबार दिउँसो २ बजेसम्मको समय दिएको र उक्त समय सम्म पिलर नहटाए आफूहरूले नै फुटाइ दिने बताएका थिए । यो सरासर भारतीय ज्यादती र न हेपाइ हो, यो सहने कुरा आउँदैन, भण्डारीले भने । उनले आफूहरू गएर अहिले पनि फोर्न सक्ने जनाउँदै केही समय प्रशासनलाई कुर्ने उल्लेख गरे ।
पिलर राख्न पाइँदैन : सडक विभाग
नेपाल भारतको सीमा सम्झौता अनुसार दशगजा क्षेत्रभित्रै यस्तो प्रकारका कुनै पनि पिलर राख्न नपाइने सडक डिभिजन कार्यालय दमकमा प्रमुख श्याम यादवले प्रस्टाए । काँकडभिट्टामा राखिएको सडक किलोमिटर पिलर नेपाली भूमिमा राख्ने भारतलाई कुनै अधिकार नै छैन, यो गलत कार्य भएकोले सो पिलर हटाइने छ, उनले भने ।
दशगजा छाडेर भारतले आफ्नो सीमा सम्म मात्र यस्तो पिलर राख्न पाउने हुलाकी राजमार्ग आयोजनाका सब इन्जिनियर सुरेन्द्र यादवले बताए । ‘भारतले नेपाल आएर सडक पिलर राख्दा नेपाली भूमि त्यही सम्म पर्ने बुझिन्छ, त्यसैले यो सरासर गलत नियत हो, उनले थपे । यसरी भारतले सडक पिलर राखेर नै नेपाली भूमि मिच्दै आएको धेरै घटना बाहिरिएको बताउँदै उनले भने, ‘अहिले पिलर नहटाए भविष्यमा पिलर सम्म नै भारतले आफ्नो जमिन भनी कब्जा गर्नेछ ।’











