विष्णुप्रसाद पोखरेल दमक । दमक नगरपालिकाले प्लटिङ्ग (जग्गा विकास) लाइ ब्यवस्थित गर्नका लागि कडा कार्यनीति पास गर्दै त्यस अनुसार काम गर्न तथा गराउन भन्दै नापी कार्यालय दमक र मालपोत कार्यालय दमकलाइ पत्रचार गरेपछि जग्गा किनबेचमा कडाइ भएको छ ।
पहिला नै प्लटिङ गरिएका र बिक्री भएका जग्गाहरु समेत फुकुवा हुन नसकेको भन्दै प्लटिङ्ग ब्यवसायीहरुले पुरानोलाइ अहिलेको कार्यविधिमा लैजानु नहुने र नयाँमा आफुहरु त्यो लागु गर्ने बताउन थालेकाछन् ।
प्लटिङ्गलाई अनिवार्य व्यवस्थित गर्नुपर्ने भई दमक नगरपालिकाको “संशोधित भवन तथा योजना मापदण्ड–२०७४” र “बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२” लाई समेत आधार बनाई गत वैशाख महिनादेखि प्लटिङ्ग सम्बन्धी कार्यनीति पारित गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि दमकमा एउटा पनि प्लटिङ्ग गर्ने कम्पनी वा ब्याक्ति नगरपालिकामा दर्ता नभएको बताइन्छ ।
जग्गा प्लटिङ्ग गर्दा मुख्य सडकबाट प्लटिङ्ग गरिने जग्गासम्म जोड्ने बाटो अनिवार्य ३० फिट चौडाईको हुनु पर्ने र अन्य सबै बाटोहरु नाला बाहेक अनिवार्य २० फिट चौडाईको हुनुपर्ने उक्त कार्यनीतिमा उल्लेख छ ।
साथै जग्गा खरिद बिक्री गर्दा नाला बाहेक २० फिट बाटो फायल नक्सा मै कित्ता काट गरी नेपाल सरकारको नाममा चढाउनु पर्ने भएपछि यसमा संलग्न ब्यवसायीहरुले पुराना प्लटिङ्गमा यो लागु हुन नसक्ने भन्दै आएकाछन् ।
नयाँ बाटोको घुम्ती वा मोडको न्यूनतम अर्धव्यास बाटो चौडाई भन्दा २०% (प्रतिशत)ले बढी चौडा भएको हुनुपर्नेछ । दमक नगरपालिकाका अनुसार प्लटिङ्ग इजाजत लिए पश्चात प्रस्तावित स्वीकृत प्लटिङ्ग नक्सा बमोजिम बाटो, नाला, विद्युत पोल ११ मीटर अग्लो र चारफेज तार जडान हुनै पर्ने ब्यवस्था नगरपालिकाले गरेको छ ।
अब तार, कल्भर्ट, खुल्ला जग्गा, हरियाली वृक्ष रोपण सहितको सम्पूर्ण पूर्वाधार निर्माण कार्यको ५० प्रतिशत काम सम्पन्न भइसके पश्चात नपाको प्राविधिकबाट स्थलगत निरीक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा नपाले जग्गा खरिद बिक्रीको सिफारिस प्रकृया अघि बढाउनेछ, नगरपालिका श्रोतले भन्यो ।
बाटो किनबेच पुर्ण रुपमा बन्द
यसैगरी यसभन्दा अगाडि बाटो पनि किनबेच हुँदै आएकोमा अब यस्तो हुन नदिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार बाटो किनबेच गर्ने र साँघुरो बाटो राख्ने कार्यको अन्त्य गरेका छौ ।
बाटो बाटो कै रुपमा रहेको हुनुपर्नेछ र दुवैतर्फ पानी बग्ने लेभल मिलाई निकास अनिवार्य हुनेगरी नगरपालिकाले दिएको डिजाइन अनुसार ढक्कन सहितको नाला तयार गर्नु पर्नेछ , ओलीले भन्नुभयो । नयाँ मापदण्ड अनुसार बाटोको दुवै तर्फ वृक्षरोपण समेत गर्नुपर्ने भएको छ ।
पहिला नाम मात्रका प्लटिङ्ग भएकाले यसलाइ ब्यवस्थित गर्न खोजिएको नगर प्रमुख ओलीले बताउनु भयो । सडक तथा बिजुलीमा मात्र नभएर खानेपानीमा पनि आफुहरुले कडाइ गर्ने उहाँले जानकारी दिनु भयो । जग्गा प्लटिङ्ग गर्दा अनिवार्य खानेपानी संस्थाले सिफारिस गरेको गुणस्तरीय पाईप बिछ्याउनु पर्नेछ साथै उपलब्ध सुविधाहरुको व्यवस्था गर्नुपर्नेछ , ओलीले भन्नुभयो ।
दमक नगरपालिकाले कार्यान्वयनमा ल्याउने हरित नगर, विश्वको अग्लो बुद्धको मूर्ती निर्माण, औद्योगिक पार्क स्थापना, दमक सिटी हल निर्माण, भ्यू टावर निर्माण जस्ता ठूला ठूला राष्ट्रिय गौरवका योजनाहरुको कारणले पनि अब दमक नगरमा बाटो, ढल, खुल्ला स्थान र बस्ती विस्तारमा संवेदनशील हुनु पर्ने भएकाले यस्तो कडाइ गरेका हौ, नगर प्रमुख ओलीले जनाउनु भयो ।











