विष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाको बजार अनुगमन चल्दै थियो । जहाँ म पनि सहभागि रहेको थिए ।
दमकको वडा नं. ६ स्थित ब्यस्त बसपार्क भित्र बजार अनुगमन भइरहदा एक सानो बालकतिर मेरो आँखा पुग्यो ।
जुन बालकको खुट्टा बाँधिएको थियो र बालक तन्कदै घिस्रिएर हिड्न कोसिस गरिरहेको थियो ।
छेउमा नै एक महिला होटलका जुठाभाँडा बाँझ्दै थिईन् ।
मैले नजिकै गएर सोधे, ‘यो बच्चालाइ किन बाँधेको ? बच्चाको आमा को हो ?’
हात पखाल्दै तिनै जुठाल्नामा भाँडा बाँझ्दै गरेकी महिला आइन् र आफ्नो बच्चा भएको सुनाइन् ।
उनले किन बाँधेको भन्ने जवाफ तत्कालै फकाइनन् र गएर बच्चाको डोरी फुकालिदिन् ।
म सोधिखोजी गर्न थाले तर उनी केहि पनि बोलिनन् । न आफ्नो नाम बताउन चाहिन् न अन्य विवरण नै ।
सहकर्मी साथीहरु केदार पौड्याल र उत्तम रिजाल पनि संगै थिए, जसले भिडियो खिच्न थाले ।

वरिपरि मानिसहरु भेला भएसकेका थिए । सबैले उनलाइ वास्तविक कुरा बताउन दबाब दिएपछि बल्ल उनले मुख खोलिन् ।
उमेर २५ । नाम रनमाया लिम्बु । माइतीघर धनकुटाको जीतपुर ।
अहिलेको घर इलामको चुलाचुली । बालक भर्खर ११ महिनाको भएको रहेछ ।
श्रीमानको नम हर्क राइ भएको बताइन् । श्रीमान्ले कुटेर आफ्नो शरिरमा भएको घाँउहरु देखाउन थालिन् ।
एकसाता अघिदेखि भोको रहेको र होटलमा एकदिन अघि मात्र आइपुगेको उनले जनाइन् ।
सासुले पनि आफुलाइ यातना दिएर घरबाट निकालेको र श्रीमान्ले अर्को श्रीमति ल्याएको उनले भनिन् ।
श्रीमान्ले ४ वटा श्रीमति ल्याएको पनि उनको भनाइ थियो ।
चीनजानको मान्छेले आफुलाई झुक्याएर विवाह गराइदिएको उनको भनाइ थियो । आफु खासै लेखपढ नगरेको उनले बताइन् ।
दमकमा रहेको ‘सेफ हाउस’मा बालक सहित राखिदिने मैले बताए ।
अनि प्रहरीलाइ भनेर श्रीमानलाइ आवश्यक कार्वाहीको बिषय पनि अवगत गराए ।
महिला अधिकारकर्मी एवं साहित्यकार सुमित्रा वाङ्देल चेली पनि त्यहाँ आइन् ।
उनले पनि सेफ हाउसमा जान सम्झाइन् तर उनले मानिन् ।
सायद उनले सेफ हाउसको महत्व थाहा पाइनन् ।
उनमा एकप्रकारको त्रास अनुहारमा झल्किन्थ्यो । उनि बिक्षप्त नै थिइन् ।
तर उनले मानिन् । उनले आफु भाडा नै बाँझेर बस्ने भनिन् । उनका कुरा सुनेर आँखाबाट आँशु झर्यो ।
घरेलु हिँसा र महिलाहरुको अवस्था अझै यस्तो छ ।
यस्ता महिला तथा बालबालिकाहरुले कहिले पाउलान न्याय ?











