विष्णुप्रसाद पोखरेल दमक । दमक वडा नं. ३ मा बर्षौदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयहरु जुटेकाछन् । दमक नगरपालिकाले प्रदेश सरकार र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा समेत यसलाइ समावेश गराएपछि स्थानीयहरु उत्साहित भएर यसको संरक्षणमा जुटेको पाइएको हो ।

प्रदेश सरकार र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम गरेर यो आर्थिक बर्षमा करिब ५० लाख रुपिया बराबरको बजेट आउने निश्चित बनेको पनि बताइन्छ । दमक नगरपालिका र सामुदायिक बनले समेत यसका लागि बजेट बिनियोजन गरेको अवस्थामा यसै बर्षदेखि नै पर्यटकीय क्षेत्रको रुपमा यसले गति लिने स्थानीयहरु बताउछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो सिमसार हम्सेदुम्से सामुदायिक बनभित्र रहेको र अन्य वडाहरुलाइ समेत छुने भएकाले पर्यटकीय सम्भावाना धेरै रहेकाले आफुहरु निर्वाचित भएर आएदेखि नै संरक्षणमा पहल गरेको वडा नं. ३ का वडाध्यक्ष नबिन बरालले बताउनु भयो । सिमसार क्षेत्रमा पर्यटन क्षेत्रको विकास गर्ने करिब ३ हेक्टर जमिनमा यो बर्ष पोखरी विस्तार गर्ने योजना छ, वडाध्यक्ष बरालले बताउनु भयो ।

स्थानीयहरुले नारायणप्रसाद बरालको अध्यक्षमा यसको संरक्षण र प्रवद्र्धनका लागि उपभोक्ता समिति समेत गठन गरेकाछन् । सचिबमा गेहनाथ पोखरे, कोशाध्यक्षमा गायत्री बस्नेत र सदस्यहरुमा पुरन अधिकारी, गुणराज धिमिरे, गणेश श्रेष्ठ र दलबहादुर सुब्बा रहनु भएको वडाध्यक्ष बरालले बताउनु भयो ।

समितिका अध्यक्ष बरालका अनुसार पोखरी तयार पारेर अहिले तत्काल फुलवारीको विकास गरिने योजना रहेको छ । चालु आर्थिक बर्षमा यो काम सम्पन्न गर्ने र अर्को बर्ष यहाँ पिकनिक स्थल, नाँउ लगायतको ब्यवस्थापन गरिने गरी यसको गुरुयोजना बनाउन शुरु गरिने समेत बरालले जानकारी दिनु भयो । हामीले नगरपालिकालाइ गुरुयोजना बनाउनका लागि अनुरोध गर्छौ र गुरुयोजना अनुसार अघि बढ्छौ, उहाँले भन्नुभयो ।

दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीका अनुसार नगरपालिकाले दमक नगरभित्र रहेका सिमसार तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नका लागि नगरस्तरीय समिति नै निर्माण गरेर काम शुरु गरेको छ । त्यसको प्रतिवेदनका आधारमा पर्यटकीय गुरुयोजना बनाएर त्यस्ता क्षेत्रहरुको विकास गरिने छ ।

सामुदायिक बन भित्र रहेको जामुने सिमसारले पर्यटकहरु आकर्षण गराउनका लागि सहज हुने भएकाले यसलाइ महत्व दिएर काम अघि बढाउन लागिएको नगरप्रमुख ओलीले बताउनु भयो । प्रदेश सरकारले यो बर्ष बजेट छुट्याएको छ र लोपहुन लागेको सिमसारलाइ पर्यटकीय गन्तब्य बनाउन यसले सहयोग पुग्ने विश्वास छ, ओलीले भन्नुभयो ।