(पार्थ मण्डल) झापा । झापामा पछिल्लो समयमा गाईगोरु तस्करी मौलाएको छ । कतै प्रहरीको सेटिङ तस्करी भइरहेको छ, भने कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाईगोरु भारत निकासी गर्दै आइरहेको छ । नेपाल-भारतको खुल्ला सीमा क्षेत्रमा अवैध रूपमा गाई गोरु भारत निकासी हुन थालेपछि यसको नियन्त्रण तथा रोकथाममा नेपाल प्रहरीले पछिल्लो समयमा सक्रियता बढाएको छ ।
प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनाली आएसँगै गाई गोरु तस्करी नियन्त्रणमा प्रहरीले चासो देखाएका हुन् । एसपी मैनालीको आदेश बमोजिम वडा प्रहरी कार्यालय भद्रपुरले गाई गोरु तस्करी नियन्त्रणमा बढी चासो देखाएका छन् । जिल्लाको अरू नाकाबाट भने गाईगोरुको तस्करी अझै रोकिएको छैन । वडा प्रहरीका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले अहिलेसम्म डेढ लाख बढीको गाई गोरु बरामद गरी भन्सार बुझाइसकेको छ ।
वडा प्रहरीले शनिवार भद्रपुर ३ स्थित किचकबध नाकाबाट भारत निकासी हुँदै गरेको २५ वटा गोरु बरामद गरेको । बरामद गरिएको गोरुलाई करिब एक लाख रुपैयाँ मुल्याकंन तोकेर भद्रपुर भन्सार बुझाइसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विशेषगरी झापाको बाहुणडाँगी, नकलबन्दा, ज्यामिरगढी, भद्रपुर, केचना, घेरावारि, कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट दैनिक गाई गोरु भारततर्फ तस्करी भइरहेको छ । ती नाकाहरू प्रहरी युनिट छ । तर पनि, प्रहरी इन्चार्जहरूले गाई गोरु नियन्त्रणमा खासै चासो देखाएको छैन । एसपी मैनालीले प्रहरी इन्चार्जहरूलाई तस्करी नियन्त्रणका लागि ठाडो आदेश दिएपनि त्यसको कार्यान्वयनमा इन्चार्जहरू लागि परेको देखिँदैन ।
भद्रपुरबाहेक अन्य प्रहरी युनिटका इन्चार्ज र सादा पोसाकका प्रहरीले गाई गोरु नियन्त्रणमा चासो नदेखाउँदा प्रहरीकै सेटिङमा तस्करी भइरहेको पुष्टि गर्छ । बाहुण्डाँगी प्रहरी चौकी, नकलबन्दा प्रहरी चौकी, ज्यामिरगढी प्रहरी चौकी, घेरावारि प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कुमरखोद, इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्चार्जहरूले गाई गोरु बरामद गरी भन्सार बुझाएको रेकर्ड नै देखिँदैन । केही दिनअघि सीमा प्रहरी चौकी केचनाले कचनकवल ४ स्थित पकलावन भन्ने स्थानबाट गाईसहित हल्दिवारी केरिएर लेखिएको रातो नम्बर प्लेटको १ च ५५६० नम्बरको पिकअप भ्यानसहित सात वटा गाई नियन्त्रणमा लिएर भद्रपुर भन्सार बुझाएको देखिन्छ ।
त्यसमा पनि जनप्रतिनिधिले प्रहरीलाई दबाब दिँदा भ्यानलाई भन्सार बुझाउँदा मूल्याङ्कन कम तोकेर बुझाएको छ । झापाका ती नाकाहरूमा भ्यान, जिप, ट्रकमा दिनहुँ गाई गोरु ल्याउने र बिहान, बेलुका र रातको समयमा तस्कर समूहले सोजै भारत लैजाने गरेको छ । भारतबाट ती गाईगोरुलाई बङ्गलादेश, आसाम लगायतका ठाउँमा पुर्याउने गरेको छ । यता गाई गोरु लगायतका तस्करी गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा इन्चार्जहरूलाई कडा निर्देशन दिइसकेको प्रहरी कार्यालय झापाका एसपी दिनेशकुमार मैनालीले बताए ।
तस्करसँगै कुनै सम्झौता नहुने प्रस्ट पार्दै उनले भने, ‘गाई गोरु नियन्त्रणमा प्रहरी लागि परेको छ ।’ भद्रपुरमा मात्र गाई गोरु नियन्त्रणमा बढी प्रहरीले चासो देखाएको छ, अन्य नाकाहरूमा तस्करी नरोकिएको जिज्ञासामा एसपी मैनालीले भने, ‘सबै नाकामा आफू पुग्न सकिँदैन, त्यसैले त्यहाँका इन्चार्जलाई तस्करी रोक्न आदेश दिइसकेका छौ, त्यसपछि पनि गाई गोरु तस्करी नरोकिए वा सेटिङमा तस्करी भए त्यस्ता इन्चार्जलाई कारबाही गर्छौ ।’
भन्सार प्रक्रिया अनुसार गाईको भन्सार प्रज्ञापनपत्र काट्न पाइँदैन । गोरुको भन्सार काट्दा ११३ रुपैयाँ मात्र लाग्ने भद्रपुर भन्सारका सुब्बा रेवति गिरीले जानकारी दिए । ११३ रुपैयाँ हुँदाहुँदै पनि तस्कर समूहले चोरी निकासीकै बाटोबाट भारत गाई गोरु पठाउन बाध्य छन् । किनभने, भन्सार भएको नाकाबाट भारततर्फ सोजै गाई गोरु लैजान त्यहाँका सुरक्षाकर्मीले दिँदैन । त्यही भएर तस्कर समूहले गोरुसँगै गाईको पनि तस्करी गर्दै आइरहेको छ । यसतर्फ नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल हेक्वा २ नम्बर गण झापासहित गण मातहत रहेका सशस्त्रका युनिटहरूले समेत खासै चासो देखाएको देखिँदैन ।










