सर्वोच्च अदालतले जन्मसिद्ध आधारमा नागरिकता बितरण रोक्न आदेश दिइरहदा यता जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासनबाट नागरिकता वितरण भइरहेको थियो । कर्मचारीहरुलाइ पानी खान समेत फुर्सद थिएन ।
विष्णुप्रसाद पोखरेल
दमक । दमकस्थित इलाका प्रशासन कार्यालय दमकमा बिहान ९ बजेदेखि नै सेवाग्राहीको भिड लागिसकेको थियो । कार्र्यालयमा कर्मचारी आउनुअघि नै सेवाग्राहीहरुको भिड बढिसकेको थियो । सधै फुर्सदिलाजस्ता देखिने कर्मचारीहरुले दिनभर चियानास्ता खाना समेत समय निकाल्न सकेनन् । सर्वोच्च अदालतले जन्मसिद्ध आधारमा नागरिकता बितरण रोक्न आदेश दिइरहदा यता जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासनबाट नागरिकता वितरण भइरहेको थियो । कर्मचारीहरुलाइ पानी खान समेत फुर्सद थिएन ।
जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए त्यस्ता नागरिकलाइ बंशजको नागरिकता दिनका लागि गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाइ परिपत्र गरेसंगै जिल्ला प्रशासन कार्यालय झापा र जिल्लामा रहेका दुइवटा इलाका प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढेको हो ।
झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय दमक र इलाका प्रशासन कार्यालय गौरीगन्जबाट नागरिकता जारी हुँदै आएको छ । तीन वटै कार्यालयहरुबाट गृह मन्त्रालयको परिपत्र अनुसार नागरिकता दिन शुरु गरिएको झापाका साहयक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द पौड्यालले बताउनु भयो । शुक्रबार अत्यन्त न्यून र आइतवारदेखि भने भिड बढेको उहाँले जनाउनु भयो ।
जिल्ला प्रशासन कार्यालयबाट दुइदिनमा ८ सय नागरिकता जारी
जिल्ला प्रशासन कार्यालय भद्रपुरमार्फत आइतवार र सोमबार साँझसम्ममा ८ सयभन्दा बढि बंशजको आधारमा नागरिकता प्रदान गरिएको साहयक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पौड्यालले जानकारी दिनु भयो । यसमा ६ सयभन्दा बढि नयाँ परिपत्रको आधारमा प्रदान गरिएको उहाँको भनाइ रहेको छ ।
बंशजको आधारमा जारी गरिएका नागरिकता एउटै रजिष्टरमा राखिएकाले ठ्याक्कै नयाँ परिपत्रको आधारमा नागरिकता प्रदान गरेको संख्या भन्न नसकिएको पनि पौड्यालले जनाउनु भयो । सधैभन्दा तेब्बरभन्दा बढि नागरिकता जारी भएको छ र भिड धेरै बढेको छ, पौड्यालले भन्नुभयो ।
गौरीगन्जबाट २ दिनमा १ सय २ वटा नागरिकता जारी
इलाका प्रशासन कार्यालय गौरीगन्जमा पनि आइतवारदेखि नै परिपत्र अनुसारको नागरिकता लिनेको भिड लागेको कार्यालय प्रमुख राजु दाहालले बताउनु भयो । सधैभन्दा तेब्बरभन्दा बढि नागरिकता लिने सेवाग्राहीको भिड लागेको उहाँले जानकारी दिनु भएको छ । दाहालका अनुसार आइतवार र सोमबार गरेर नयाँ परिपत्रको आधारमा १ सय २ वटा नागरिकता यस कार्यालयबाट जारी भएको छ । यसमा ३३ महिला र ६९ पुरुष रहेकाछन् । यसभन्दा अघि दैनिक १० देखि १२ वटा नागरिकता जारी हुदै आएको उहाँले जनाउनु भयो ।
दमकबाट वटा ७६ वटा नागरिकता जारी
दमक नगरपालिकामा सरदरमा दैनिक १५ देखि २० वटा नागरिकता जारी हुदै आएकोमा नया परिपत्रपछि आइतवार र सोमबार नागरिकता लिनेको संख्या धेरै बढेको पाईएको इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार नयाँ परिपत्र अनुसार जन्मसिद्ध आधारमा आइतवार र सोमबार गरेर दुइदिनको अवधिमा ७६ वटा नागरिकता जारी भएको छ ।











