विष्णुप्रसाद पोखरेल दमक/उनि दमक बसपार्कमा आएपछि अलमलमा परिन् । उनको साथमा भारतीय रुपिया १० रुपियामात्र थियो । एउटा पुरानो मोडलको मोवाइल । उनि अतालिएजस्तो देखिएकी थिइन् ।

एक जेष्ठ महिला अप्ठेरोमा परेजस्तो लागेपछि केहि महिलाले सोधखोज गर्दा कहाँ हिडेको भन्ने जवाफ दिन सकिनन् । तत्काल उनिहरुलेमा प्रहरीलाइ खबर गरे । सिक्किम घर बताएकी सितादेबी बिष्ट क्षेत्रीको प्रहरीले तत्काल उद्धार गर्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि दमक नगरपालिकाको सहयोगमा ग्रामीण तथा शहरी विकास नेपालको संयोजनमा दमकको बेलडाँगीमा शुरु गरिएको सुरक्षा केन्द्र (सेफ हाउस)मा लगिएको थियो । घटना चैत २२ गते साँझको हो ।

सेफ हाउसमा पुगेपछि उनले राम्रो माया र हेरचाह पाइन् । लेखपढ नजाने पनि मोवाइल बोकेकी उनलाइ सोधिखोजी गर्दा आफन्तको बिषयमा खासै केहि पनि जानकारी दिन सकिनन् । त्यसपछि सेफ हाउसबाट उक्त मोवाइलमा भएका नम्बरहरु डायल गरेर आफन्त पत्ता लगाउन शुरु गरियो ।

कयौपटक फोन गर्दा एक आफन्तको मंगलवार विहान फोन लाग्यो । नाताले देवर पर्ने हरीप्रसाद कामी सम्पर्कमा आएपछि नेपाल बोलाइयो । सिक्किबाट नेपाल आइ कामी इलाका प्रहरी कार्यालय दमकको सम्पर्कमा आए ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले प्रहरीको भेनमा हालेर नै सम्मानका साथ कामीलाइ दमक चोकबाट करिब ५ किलोमिटर दुरीमा रहेको सेफहाउसमा पुर्याए ।

सेफ हाउसमा रहेकी बिष्ट कामीलाइ देखेपछि मुसुक्क हासिन् । भाउजु कहाँबाट यहाँ आइपुग्नु भयो ? उनले प्रश्न गरे । तर बिष्टले हासिन् तर जवाफ फर्काउन सकिनन् । कम बोल्ने स्वभावकी उनले आफन्तको साहारा पाएको महसुस गरिन् ।

पहिलो श्रीमान् निक्कै अगाडि मृत्यु भएको रहेछ । पछि दोश्रो विवाह गरेपनि दुइबर्ष अघि दोश्रो श्रीमान्को मृत्यु भएपछि बिक्षिप्त बनेर हिड्ने क्रममा उनि यहाँ आइपुगेकी रहेछिन् । उनलाइ लिन आएका देवर कामीले सेफ हाउस र प्रहरीलाइ धन्यवाद दिए ।

सेफ हाउसमा आवश्यक प्रक्रिया पुर्याएर प्रहरीले आफ्नै भेनमा हालेर दमक बसपार्कमा ल्याएर काकडभिट्टाको बस चढायो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख सुब्बा आफैले बस चढाउदै हात हल्लाएर बिदाइ गरे । दमक नगरपालिकाको न्यायिक समितिका सदस्य कमल श्रेष्ठपनि साक्षि बसे ।

दमकमा एक महिनाअघि देखि दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको पहलमा सेफ हाउस शुरु भएको हो । महिला सुरक्षा केन्द्र नाम दिइएको सेफ हाउसमा हाडनाता करणीबाट गर्भवती भएकी एक महिला र अर्की १२ बर्षिया बलात्कृत महिला अहिले बसिरहेका रहेछन् ।

लैड्डिक बिभेदमा आधारित हिँसा पीडित तथा प्रभावित महिलाहरु, बिभिन्न प्रकारले जोखिममा परेका बालिबालिकाहरुलाइ तत्काल सुरक्षा दिने उदेश्यले सेफ हाउस सञ्चालन गर्ने जिम्मेवारी नगरपालिकाले ग्रामीण तथा शहरी विकास नेपाललाइ प्रदान गरेको जनाइन् ।

भुटानी शरणार्थी शिविर बेलडाँगीमा युएनएचसिआरको सहयोगमा भुटानी शरणार्थी महिलाहरुका लागि सञ्चालन भएको महिला सुरक्षा गृहलाइ नै तत्काल अर्को ब्यवस्था नभएसम्म सेफहाउसको रुपमा सञ्चालन शुरु भएको पाईएको हो । अहिले भुटानी शरणार्थीको संख्या न्यून भएपछि स्थानीय संरचना स्थानीय तहलाइ युएनएचसिआरले हस्ताण्तरण गर्ने गरेको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ अन्र्तगत मुद्धामा न्यायमाग्न आउने, जोखीममा परेका महिला तथा किशोरीहरु र बालबालिकालाईआवश्यकता परेको अवस्थामा सुरक्षित आवास गृह (सेफ हाउस) राखी त्यस्तो आवास गृहलाई ब्यवस्थित ढंगले संचालन गर्ने उद्देश्यले दमक नगर कार्यपालिकाले स्थानिय सरकार संचालन ऐन,२०७४ को दफा १०२(२) बमोजिम यस सम्बन्धि कार्यविधि बनाएको उपप्रमुख अधिकारीले बताइन् ।