विष्णुप्रसाद पोखरेल दमक ।  दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले मुटु रोगका बिरामीहरुलाइ लक्षित गरेर सामुदायिक अस्पताल सञ्चालनमा ल्याउन आवश्यक तयारी पुरा गरेको जनाएको छ । अस्पताल सञ्चालनको तयारीको बिषयमा मंगलवार प्रदेश नं. १ का सामाजिक बिकास मन्त्री जीबन घिमिरेले जानकारी लिँदै सञ्चालन तयारीमा रहेको अस्पतालको अनुगमन समेत गर्नु भएको छ ।

मुटु रोगका बिरामीहरुलाइ लक्षित गरेर प्रदेश नं. १ मा नै पहिलो सामुदायिक अस्पताल आँउदो बैशाख ६ गतेदेखि सञ्चालनमा ल्याइने तयारी भएको रेडक्रस सोसाइटी दमक उपशाखा निवर्तमान अध्यक्ष लिला गुँरागाइले जनाउनु भयो । उहाँका अनुसार आवश्यक धेरैजसो उपकरणहरु नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयबाट उपलब्ध भएको र अन्य स्थानीय स्तरमा जुटाउने काम भइरहेको पनि उहाँले जनाउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१५ शैयाको अस्पतालका लागि आवश्यक पुर्वधार सहितका उपकरणहरु तयार रहेको सो अवसरमा मन्त्री घिमिरेलाइ जानकारी दिईएको थियो । प्रदेश सरकारले दुइ चरणमा गरेर चालु आर्थिक बर्षमा ३५ लाख रुपिया बजेट समेत उपलब्ध गराएको बताइन्छ । उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीका अनुसार गतबर्ष नै अस्पातलको स्वीकृती लिएपनि भौतिक निर्माणमा समय लागेकाले अहिले सञ्चालनको तयारी भएको हो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमण्डौ, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा सामुदायिक अस्पताल सञ्चालनमा आउन लागेको अब मुटुका बिरामीहरुले काठमण्डौ लगायत टाढा जानु पर्ने अवस्थाको अन्त्य गरिन लागेको बुढाथोकीले बताउनु भयो । सामान्य मुटुको बिरामीहरु समेत काठमण्डौ जानु पर्ने अवस्था रहेको थियो, अब हामी यसको अन्त्य गर्नेछौ, उहाँले भन्नुभयो ।

सो अवसरमा मन्त्री घिमिरेले प्रदेश सरकारले आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको उपशाखाका उपसभापति हिमालयप्रसाद दाहालले बताउनु भयो । मुटु रोगका बिरामीहरु दिनप्रतिदिन बढ्ने क्रममा रहेको तर बिशेषज्ञ सेवा नरहेको अवस्थामा सामुदायिक तवरबाट हुन लागेको यो कामको प्रशंशा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता घिमिरेले जनाएको पनि दाहालको भनाइ छ ।

मन्त्री घिमिरेले अस्पातलका आवश्यक संरचनासंगै सर्प संग्राहलयको समेत अवलोकन गर्नु भएको थियो । नेपालमा पाइने बिभिन्न प्रजातीका सर्पहरु राखेर नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले सर्प संग्राहलय समेत सञ्चालनमा ल्याएको छ । बिगत ५ बर्षअघि देखि सञ्चालनमा आएको संग्राहलय सर्प डसाइ सम्बन्धि जनचेतना जगाउने उदेश्यले सञ्चालनमा ल्याईएको बताईएको छ ।