काठमाडौं। विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग जोडने गुरुयोजना सार्वजनिक गरिएको छ।बिहीबार विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हनुमानढोकामा एक कार्यक्रमकाबीच सो गुरु योजना सार्वजनिक गरेका हुन्। गुरु योजनामा दुई विश्वसम्पदा भित्र रहेका अन्य स्थानीय सम्पदाहरुको पनि संरक्षण र विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने उल्लेख गरिएको छ।

विश्व सम्पदा हनुमानढोकादेखि अर्को विश्व सम्पदा स्वयम्भूको बीचमा २० वटा भन्दा बढि ऐतिहासिक तथा धार्मिक सम्पदाहरु रहेका छन्। त्यसको संरक्षण हुने गरी सो पदयात्रा गुरु योजना तय गरिएको गुरु योजना तयारी समितिकी सदस्य रजित शाक्यले जानकारी दिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं महानगरपालिकाको लगानीमा निर्माण गरिएको गुरुयोजनामा दुई विश्व सम्पदाहरुको बीचमा २ दशमलव २ किलो मिटर पैदल यात्रा निर्माण गर्ने योजना तय गरिएको छ। कार्यक्रममा बोल्दै मेयर शाक्यले स्थानीय सम्पदाहरुको संरक्षण गर्ने र त्यसलाई पर्यटनसँग जोडेर समृद्धिको अभियानलाई तीव्रता दिन सो गुरुयोजना तय गरिएको बताए।

उनले काठमाडौं महानगरपालिकाको सम्पदाहरुको पुनर्निर्माणमा सहयोग गर्न पनि सबैलाई आह्वान गरे। मेयर शाक्यले काठमाडौंका सम्पदाहरुको संरक्षणमा स्थानीय संघ, संस्थाहरु जुटे त्यसमा ८५ प्रतिशत लगानी गर्न काठमाडौं महानगरपालिका तयार रहेको पनि बताए।

यसैबीच, विश्व सम्पदा दिवसकै अवसर पारेर विश्व सम्पदा स्वयम्भूबाट अर्को विश्व सम्पदा हनुमानढोकासम्म बिहीबार बिहान पैदल यात्रा पनि गरिएको छ। काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य नेतृत्वको सो पदयात्रा कार्यक्रम आयोजना गरिएको हो। पदयात्राका क्रममा स्थानीय कला र संस्कृति झल्कने खालका बाझागाजासहितको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।श्रोत डिसी नेपाल