काठमाडौं, वैशाख ११ । थाईल्यान्डमा भइरहेको एसीसी यू १६ इस्टन रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । बुधबार मलेसियालाई ३९ रनले पराजित गर्दै नेपाल दोस्रो खेलमा पनि विजयी भएको हो । आजको जीतसँगै नेपालको सेमिफाईनल यात्रा बलियो भएको छ । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३.२ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १०२ रन मात्र बनाउन सक्यो ।

उसका लागि शर्वेन शुरेन्द्रनले नटआउट ४६ रन बनाउन बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । नेपालका लागि रमेश कुर्मी, तिलक राज भण्डारी, प्रसान्त महतले दुई-दुई, निखिल कुमार सिंह र प्रसान्त सिंहले एक-एक विकेट लिए । त्यस अघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालका लागि आईश भट्टराईले ३४, दिपक बोहोरा, अर्जुन कुमालले समान १६, कप्तान विशाल बिक्रम केसीले २८, रोहन दुधराज बिकले ८, प्रसान्त सिंहले ६, सुवास ऐरले ११, निखिल कुमार सिंहले १२ र तिलक राज भण्डारीले २ रन बनाए ।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लोकमान नुर र सचिनुले समान २ लिए । त्यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट हात पारे । यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल भोलि (बिहीबार) आयोजक थाईल्यान्डसँग खेल्ने छ । एभरेस्ट दैनिक बाट