विष्णुप्रसाद पोखरेल

दमक । झापाको दमक नगरपालिकाले नगरभित्रका बिपन्न घरबार विहिन परिवारका लागि बिपन्न आवास निर्माणको काम शुरु गरिएको छ । नगरपालिकाले दमक १ स्थित रतुवा खोला किनारमा रहेको नगरपालिकाको जग्गा (सरकारी)मा भवन निर्माणको शिलन्यास गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आवास गृह निर्माणको शिलन्यास गर्नु भएको हो । चालु आर्थिक बर्षमा २३ वटा घर बन्ने र अति विपन्नहरुलाइ उक्त घरहरु उपलब्ध गराइने नगर प्रमुख ओलीले बताउनु भयो । अब कोहि पनि नगरबासी घरबारविहिन हुनु नपरोस भन्ने हाम्रो चाहाना रहेको छ, ओलीले भन्नुभयो ।

नगरपालिकाले बिपन्न पहिचान कार्यविधि बनाएर बिपन्नता परिचय बितरणको काम समेत संगै बढाएको र उक्त कार्यविधि अनुसार अति बिपन्न छनौट भएकाहरुलाइ प्राथमिकतामा राखिने पनि उहाँको भनाइ छ । लामो समयदेखि दमकमा नै बसोबास गर्दै आएका तर घर नभएकाहरुले अब घर पाउनेछन्, उहाँले भन्नुभयो ।

विपन्न आवास निर्माण उपभोक्ता समितिका अध्यक्ष हरी न्यौपानेका अनुसार उपभोक्ता मार्फत ८ वटा घर बन्नेछन् भने नगरपालिकाले ठेक्का प्रक्रियामा गएर थप घरहरु बनाउने तयारी रहेको छ । ३ महिनाभित्रमा १ करोडको लागतमा आफुहरुले ८ वटा घर बनाइसकेर हस्ताण्तरण गर्ने योजना रहेको पनि उहाँले बताउनु भयो । सबै घरहरु एउटै डिजाइनका हुने पनि बताइन्छ ।

संसदीय क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्र्तगत झापा क्षेत्र नं. ५ का साँसद एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टयाएको १ करोड ४० लाख, प्रदेश सरकारले दिएको शर्शत अनुदान १ करोड ३० लाख र नगरपालिकाले छुट्याएको १ करोड गरेर ३ करोड ७० लाख विपन्न आवास कार्यक्रमका लागि बजेट रहेको नगरपालिकाले जनाएको छ ।

सडक, बिजूलीबत्ती, ढल लगायतका सबै सुविधाहरु सहितको घर बन्ने दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले बताउनु भएको छ । नक्सा डिजाइनदेखि लिएर सबै काम सकिएर अब निर्माणको काम पनि शुरु भएको छ, श्रेष्ठले भन्नुभयो । एउटा बैठक कोठा, दुइवटा सुत्ने कोठा, एउटा भान्सा कोठा र बरण्डा सहितको घर बन्ने श्रेष्ठले बताउनु भयो । घरसंग शौचालय पनि हुनेछ ।