विष्णुप्रसाद पोखरेल
दमक । अस्पताल तथा विशेषज्ञसम्म आइपुगेपछि आधाभन्दा बढिको बाँझोपन समस्या सामधान हुने गरेको स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुले बताएकाछन् । बिभिन्न रोगहरुका कारण समस्या भएको हुनसक्ने भएकाले समस्या पहिचान भएपछि त्यस अनुसार काउन्सिलीङ र उपचार गर्दा धेरैले गर्भधान गरेको बताईएको छ ।
भारतको न्यू लाइफ फर्टिलिटी सेन्टर सिलिगुढी र ओम मेची अस्पातल दमकको आयोजनामा शुक्रबार दमकमा भएको निशुल्क बाँझोपन समस्या सम्बन्धिको स्वास्थ्य शिबिरमा सहभागि हुनु भएका विषेज्ञहरुले यस्तो बताउनु भएको हो । पहिला महिलाहरुलाइ मात्र यसमा दोष दिने गरेपनि पछिल्लो समयमा त्यस्तो गलत धारणा हट्दै गएको र दम्पती नै सल्लाह लिन आउने गरेको पनि बताईएको छ ।
स्त्री रोग विशेषज्ञ डा. शंकर हुजदारका अनुसार डिम्बवाहिनी नली बन्द हुनु पनि बाँझोपनको प्रमुख समस्याको रुपमा देखिने गरेको छ । यसको मुख्य कारण पाठेघरमा क्षयरोग एउटा मुख्य कारक भएको डा. हुजदारले बताउनु भयो । यो जाँच गरेपछि मात्र थाहा पाउने भएकाले धेरैलाइ यस बिषयमा जानकारी नहुने गरेको बताइन्छ ।
पाठेघरको संक्रमण पनि अर्को महत्वपुर्ण पाटो भएको बताईएको छ । यौन सम्पर्कबाट सर्ने रोगका कारण डिम्बवाहिनी नलीका इन्फेकसन तथा इन्फ्लामेसन हुँदा डिम्बवाहिनी नली बन्द हुने बताइन्छ । अस्पतालमा आएर बिशेषज्ञबाट परामर्श तथा उपचार शुरु गरेपछि कम्तिमा ५० प्रतिशत बाँझोपन प्रारम्भिक चरणमा नै ठिक हुन्छ, हुजदारले भन्नुभयो ।

भारतको न्यू लाइफ फर्टिलिटी सेन्टरकी बिशेषज्ञ सेफली बन्सल माधवले बाँझोपन समस्या धेरै हदसम्म सामधान गर्न सकिने बताउनु भयो । उहाँले आफुहरुले नेपालकै एक महिलाको ५७ बर्षको उमेरमा गर्भधान गराउन सफल भएको बताउनु भयो । पछिल्लो पटक ५७ बर्षको उमेर नेपालकी एक महिला आमा बनेकीछन् जसले हामीलाइ धेरै खुसि लागेकोछ, उहाँले भन्नुभयो ।
सेन्टरका अर्का विशेषज्ञ डा.प्रशनजीत कुमार रोयले बार्षिक रुपमा नेपालबाट ५ सयभन्दा बढि दम्पती बाँझोपन समस्या लिएर आफुहरुकामा आउने गरेको जनाउनु भयो । यहाँ यो एक प्रकारको समस्या रहेको पाएकाले आफुहरुले नेपालमा नै आएर यस प्रकारको स्वास्थ्य शिविर स्थानीय अस्पतालको आयोजनामा गरिएको समेत बताउनु भयो ।
शिविरको उद्घाटन गर्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खानपीन लगायतका कारणले बाँझोपन समस्या बढेको भन्ने आफुले सुनेको बताउदै यसमा सचेत हुनु पर्नेमा जोड दिनु भयो । बाँझोपन सम्बन्धि दमकमा विशेषज्ञहरु सहित पहिलो पटक यस प्रकारको शिविर भएको भन्दै यसबाट धेरैले लाभ लिने जनाउनु भयो । बाँझोपन समस्या लुकाएर होइन विशेषज्ञकोमा गएर सामधान गर्न सकिन्छ भन्ने सबैले बुझ्नु पर्दछ, ओलीले भन्नुभयो ।
ओम मेची अस्पतालका अध्यक्ष डा. निरञ्जनसिंह बोगटीका अनुसार २ सय जना बाँझोपन समस्या भएका महिला तथा पुरुषहरुले शिविरबाट सेवा लिएकाछन् । ल्याव परीक्षण लगायतका सेवाहरु समेत शिविरमा प्रदान गरिएको उहाँले बताउनु भयो ।





7




