विष्णुप्रसाद पोखरेल

दमक । कार्तिक अन्तिम र मंसिर १ मा धान रोपेको देख्दा धेरैलाइ अचम्म लागेको थियो । अहिले त्यो धान मज्जाले फलेपछि स्थानीय सबै छक्क परेकाछन् । झापाको कचनकवल ४ पाठामारीका किसान नासिर मियाले यस क्षेत्रमा पहिलो पटक तीनबाली धान भित्र्याउनु भएको छ । उहाँले बर्षमा तीनपटक सम्म धानबाली लगाउन सकिन्छ भन्ने उदाहरण दिदै त्यो प्रमाणित गरेर समेत देखाउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्तिकको अन्तिम दिन र मंसिर १ धान रोप्न खोज्दा शुरुका दिनमा त सबैले अचम्म माने तर मलाइ विश्वास थियो यो सफल हुन्छ, मियाले भन्नुभयो । खेत नजिकै रहेको स्थानीय झिङ खोलाको किनारमा मियाले बीउ राखेर कार्तिक मसान्त र मंसिर १ मा धान रोप्नु भएको थियो । जुन शनिबार काट्नु भएको छ ।

आफ्नो तीन कठ्ठा र बाँकी सबै साहुको जमिनमा खेती गर्नु भएका मियाले मंसिरमा धान रोपेर बैशाखमा, जेठमा धान रोपेर भदौमा र भदौ अन्तिममा रोपेर मंसिरमा धान थन्क्याउनु भएको हो । उहाँले हर्दिनाथ १ जातको धान २ बिधा जमिनमा रोप्नु भएको थियो । सिंचाइका लागि सानो एक इन्चको मोटर राखेको र निरन्तर चलाउदा मुश्किलले मात्र सिचाइ भएको उहाँले जनाउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, धान सुपरजोन कार्यन्वयन इकाइ, बनियानीले यसको उत्पादकत्व लगायतको बिषयमा अध्ययन समेत गरेको छ । कृषि विकास अधिकृत सागर विष्टका अनुसार १० बर्गमिटर धानको ताजा तौल ७ दशमल २ केजी पाईएको छ । यसमा चिस्यान २३ दशमल ०५ प्रतिशत रहेको उहाँले जनाउनु भयो । उत्पादकत्व प्रतिबिघा १ सय ७ दशमलव ३ रहेको पाईएको उाँको भनाइ छ ।

यस क्षेत्रमा तीनबाली धान लगाउने किसान मियामात्रै भएको जनाउदै यो उत्पादनलाइ हेर्दा निक्कै राम्रो पाईएको बिष्टको भनाइ रहेको छ । बैशाखको दिनमा समेत धान फलेको देख्दा धेरैलाइ अचम्म लाग्नु स्वभाविक हो तर गर्दा हुदो रहेछ भन्ने यसले प्रमाणित गरेको छ, उहाँले भन्नुभयो । यसबाट यस क्षेत्रमा तीनबाली धान लगाउन सकिन्छ भन्ने देखिएको र यसमा किसानहरुलाइ प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने पनि उहाँले बताउनु भयो ।

शुरुवातका दिनमा एकबालीमात्र धान खेती गर्दै आएका स्थानीयहरु पछिल्लो समयमा दूयबालीसम्म धान लगाउन थालेपछि तीनबाली धान लगाईएको यो पहिलो भएको धान सुपरजोन कार्यन्वयन इकाइ, बनियानीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाले बताउनु भयो ।

किसानमा इच्छाशक्ति र सिचाइको ब्यवस्था भएमा तीनबाली धान लगाउन सकिन्छ भन्ने यो उदाहरण हो, उहाँले भन्नुभयो । मौसमले हामीलाइ साथ दियो र मौसम अनुसार बीउ किसानलाइ उपलब्ध गराउने भने तीन बाली सजिलै लगाउन सकिन्छ, थापाले भन्नुभयो । अहिले एउटा किसानले गर्नु भएको छ हामी यसलाइ विस्तार गर्नका लागि हामी कार्यक्रम ल्याउछौ, थापाको भनाइ छ ।