काठमाडौं। सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले ‘मकालुको आधार शिविरमा ‘मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको’ जानकारी दिएको छ। ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ। हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण नभए पनि दक्षिण एशियामा यसलाई विश्वास गर्नेहरू छन्।

र, भारतीय सेनाले आफ्नो आधिकारिक ट्विटरमा यतीको ‘पैतालोको छापको तस्बिर’ प्रकाशन गरेर त्यो कथामा नयाँ कोण थपेको छ। त्यो तस्बिर एप्रिल ९ मा खिचिएको भए पनि भारतीय सेनाले यतिका बारेमा प्रचलित सिद्धान्तहरूसँग मेल खाएको निश्चित गरेपछि मात्रै प्रकाशित गरेको टाइम्स अफ इन्डिया पत्रिकाले लेखेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक सञ्जालमा उत्पन्न शङ्कालाई लक्षित गर्दै भारतीय सेनाले यतीका अस्तित्वका बारेमा प्रमाणको तस्बिर खिचिएको र सम्बन्धित विज्ञहरूलाई हस्तान्तरण गरेको बताएको छ। “त्यसैले हामीले सोच्यौँ कि वैज्ञानिक सोचलाई आकर्षण गर्न र रुचिलाई पुनर्ताजगी गर्न यो सार्वजनिक गर्नुपर्छ।”

यती हिमालयको माथिल्लो भागमा बस्ने मानिन्छ र यति वा यसका पैतालोका छाप देखेको कथाहरू नेपाल, भारत र भुटानमा प्रचलित छ। सन् २०१३ मा ब्रिटिश वैज्ञानिकहरूको टोलीले यती हिमालमा पाइने भालुको एक उपप्रजाति हुनसक्ने निष्कर्ष निकालेको थियो। ट्विटरमा मानिसहरूले भारतीय सेनाको दाबीलाई विश्वास नलागेको बताएका छन्। भारतीय सेनाको दाबीमाथि ठट्टा गर्नेहरू पनि उत्तिकै छन्। हालैका वर्षमा यतीको अस्तित्वका बारेमा थुप्रै अनुसन्धानहरू भएका छन्।

सन् २०११ मा ५० वर्षअघि नेपालबाट लन्डन पुरर्‍याइएको एउटा ‘यतीको औँला’ मानिसको हाड भएको प्रमाणित भएको थियो।नेपालमा पत्रकार कनकमणि दीक्षितले यतीको पाइला बनाउने तरिका भन्दै ट्विटरमा भारतीय सेनाको दाबीलाई प्रश्न गरेका छन्। हिमाली शृंखलामा मानवबाट अलग्गिएको एउटा प्राणी यती हो कि भनेर वैज्ञानिकहरूले समेत अनुमान गरेका थिए । हिउँमा हिंड्ने वनमान्छेको किंबदन्ती तथ्यमा आधारित हो कि भन्ने पनि थियो ।

विश्वका ठूल्ठूला स्तनधारी प्राणी सबैको जाति-प्रजाति गणना नभइसकेकोले एकाध शताब्दीअघिसम्म हिमालय क्षेत्रको कुनाकाप्चामा मानवसँग नजिक सम्बन्ध राख्ने दुईखुट्टे प्राणी छ भन्ने रोमाञ्चक सम्भावना छँदैथियो । फेरि हिमाली भेकका विभिन्न गुम्बामा ‘यती’ नाम गरिएको जनावरको अवशेष राखिएको भन्ने पनि थियो- कतै एउटा सुकेको हातको हड्डी, कतै भुत्ले रौं रहेको छाला वा पिठ्यूँ ।

यती रहेको सबभन्दा गतिलो प्रमाण त कहलिएका पर्वतारोही एरिक शिप्टनद्वारा आयो । उनले दोलखाको गौरीशंकर हिमालको पूर्वोत्तर मेलुङ्से हिमनदीमा एउटा पाइलाको तस्वीर खिचे सन् १९५१ मा । मानिस जसरी हिंड्ने कुनै जनावरको जस्तो देखियो त्यो पाइलाको डोब ।

शिप्टनको त्यो तस्वीरले यती नामक प्राणी रहेछ नै भन्ने विश्वास धेरैलाई दिलायो । सगरमाथाको प्रथम आरोही जोडीका एडमण्ड हिलारीले पनि पांगबोचे गुम्बामा रहेको यतीको भनिएको अंगको रौं अनुसन्धानको लागि समुद्रपार लगे । पश्चिममा ‘नेचर टेलिभिजन’ च्यानलहरूले केही वर्ष बिराएर यतीको खोजी अभियान चलाई नै रहे ।