कविता

- गुराँस ठकुरी

पानी घाम सहेर भोक नभनी भुल्छ्यौ सबै वेदना

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आमा पावन सृष्टिको छ महिमा गाएर पुग्ला कहाँ ।

छातीमा छहरा प्रवाह रसको हुर्काउँछ्यौ सन्तति

भछर्यौ दिव्य प्रकाशबाट जननी ! खाली जहाँछन् जति ।।

तिम्रो काख म ठान्छु रम्य सुनको प्रासादको आसन

आमा सृष्टि फुलाउँछ्यौ सगरमा मैलो पखालीकन ।

तिम्रो दिव्य मुहारको मधुरता हे स्वर्गकी सुन्दरी

जस्तै प्यार दिउन् यहाँ तर अरू लाग्दैन आमासरि ।।

चोखो भाव म गर्छु अर्पण सधैं सम्पूज्य मेरो तिमी

आत्मा बस्दछ जो उही भुवनको सेरो र फेरो तिमी ।

भन्छ्यौ स्नेह दिएर हे मनधनी ज्ञानी भए है भनी

तिम्रै आकृति देख्छु यो गगनमा टाढा भए तापनि ।।

तिम्रो आशिक बग्छ यो रगतमा यो श्वास फेर्दैछु म

तिम्रै सौम्य मुहारमा कति फुले मुस्कान हेर्दैछु म ।

भोकै पर्नुपरोस् खुसी छु, ममता माया मिली टन्न छु

आमा छ्यौ जगमा र पो जीवनमा साँच्चै म सम्पन्न छु ।।

आफ्नै निर्भय कर्मले जग भर्यौ हे दूधकी पोखरी

मैले देख्न सकूँ सधैँ अधरको मुस्कानको माधुरी ।

मैले मेट्न सकूँ हरे हृदयका तिम्रा कयौँ तिर्सना

आमा ! बाँच तिमी सयौँ सय जुनी दीर्घायुको कामना ।।