विष्णुप्रसाद पोखरेल/ दमक । दमक नगरपालिका वडा नं. ६ मा निर्माणाधिन रहेको बसपार्क बहु आयमिक खालको र कम्तिमा दुइदेखि तीन तले बनाउनका लागि आवश्यक प्रक्रिया शुरु भएको पाईएको छ । दमक नगरपालिकाले बसपार्कलाइ आधुनिक र सुविधा सम्पन्न बनाउनका लागि शहरी विकास मन्त्रालयलाइ अनुरोध गरेपछि यसको काम शुरु भएको पाईएको हो ।

बसपार्कको अवस्था र यसलाइ नेपालकै पहिलो नमुना बसपार्क बनाउनका लागि आफुहरुले तत्काल काम थालनी गर्ने शहरी विकास मन्त्रालयका सचिब डा.रमेशप्रसाद सिंहले बताउनु भयो । केहि समयअघि मन्त्रालयको प्राविधिक टोली सहित सचिब सिंह आफै बस्तुस्थिति बुझ्न दमक आउनु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माटो परिक्षण लगायत बिभिन्न प्राविधिक पक्षहरुको जाँचपछि मात्र कति तलासम्म जान सकिन्छ र कस्तो बनाउने भन्ने बिषयमा बोल्न सकिने जनाउदै देशकै नमुना र तला भएको पहिलो बसपार्क बन्ने सिंहले जनाउनु भयो । कति वटा तलासम्म बनाउन सकिन्छ र कस्तो बनाउन सकिन्छ भन्ने प्राविधि अध्ययनपछि मात्र थाहा हुन्छ, उहाँले भन्नुभयो ।

अहिले मुखले भन्नेमात्र समय नरहेकाले तत्कालै काम अघि बढाउन आफुले यससंग सम्बन्धित निकायहरुलाइ निर्देशन पनि दिएको सिंहले बताउनु भयो । यसैसातादेखि नमुना बसपार्क बनाउनका लागि डिपिआरको काम शुरु हुन्छ, उहाँले भन्नुभयो । यसका लागि प्राविविधक टोलीहरुलाइ दमकमा बस्नका लागि भनिसकेको छु र तीन महिनाभित्रमा डिपिआर तयार हुन्छ, सिंहले जनाउनु भयो ।

उक्त टोलीसंगै आउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य स्वकीय सचिब इन्द्र भण्डारीले शहरी विकास मन्त्रालयको टोलीले सम्भाब्यता अध्ययन गरेको र डिपिआर शुरु गर्न तत्कालै प्राविधिक टोली खटाएको जनाउनु भयो । प्रधानमन्त्री ओली कुनै पनि काम चाडोेहोस भन्नेमा रहनु भएकाले यो काम ढिला नहुने विश्वास रहेको पनि बताउनु भयो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आफुहरुले तीनदेखि चार तलासम्मको बसपार्क निर्माणका लागि आग्रह गरेको बताउनु भयो । हामीले नगर कार्यापालिकाको बैठकबाट नै निर्णय गरी शहरी विकास मन्त्रालयलाइ तला भएको बसपार्क बनाउनका लागि आग्रह सहितको पत्र पठाएका थियौ र त्यसलाइ उहाँहरुले सकारत्मक रुपमा लिएर अध्ययनका लागि आउनु भएको छ, ओलीले भन्नुभयो ।

ब्यवसायीक सटरहरु सहितको बसपार्क बनाउन आग्रह गरिएको शहरी विकास मन्त्रालयबाट आउनु भएका सचिब सहितको प्राविधिकहरुको टोलीले तत्काल यसको प्रक्रिया शुरु गर्ने बताएकाले यो आर्थिक बर्षमा डिपिआर र अर्को आर्थिक बर्षको शुरुवातदेखि काम शुरु हुने अपेक्षा रहेको उहाँले जनाउनु भयो । बसपार्क २ बिगाह जमिनमा फैलिएको छ ।

पहिलो चरण अन्र्तगत बसपार्क निर्माण सम्पन्न भएको जनाईएको छ । टर्मिनल भवन निर्माण सम्पन्न भएपनि सञ्चालनमा भने आउन सकेको छैन । बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तिर्थराज बस्नेतका अनुसार झण्डै ५ बर्ष लगाएर पहिलो चरणको बसपार्क निर्माण काम सकिएको छ ।