विष्णुप्रसाद पोखरेल
दमक । ‘बृद्धाश्रम बनाउने होइन घर मिलाउनेमा लागौ’ भन्ने मुल नाराका साथ झापाको दमक नगरपालिकाले सासु–बुहारी मेलमिलाप कार्यक्रम अघि सारेको छ । कार्यक्रमको मुख्य उदेश्य पारिवारिक मेलमिलाप तथा सासु–बुहारीको सम्बन्धलाइ आमा–छोरीको रुपमा स्थापित गराउनु रहेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।
नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी अधिकारीका अनुसार न्यायिक समितिमा सासु–बुहारीका बेमेल सम्बन्धिका धेरै उजुरीहरु आएको र सामान्य अवस्थामा समेत ठुलो खटपट देखिएकाले यो कार्यक्रम महसुस गरिएको हो । घरबाट निस्कदा सोधखोज नगरेको भनेर समेत बिबाद बढेर छुटिनु पर्ने अवस्था देखेका र भेटेका छौ, अधिकारीले भनिन् ।
अहिलेसम्म घरहरुमा हुने गरेको बिबादको कारण नखोज्ने र मिलाउने भन्दा पनि बृद्धाश्रम खोल्नेतिर सोच जान थालेकाले हामीले बृद्धाश्रमको सट्टा मिलाप कार्यक्रम शुरु गरिएको पनि अधिकारी बताउछिन् । प्रत्येक वाड, टोल हुँदै घरघरसम्म पुगेर सासु–बुहारीहरुका एकअर्काका कुरा सुन्ने अभियान शुरु गरिएको अधिकारीको भनाइ छ ।
परिवार बिखण्डनमा महिलाहरुलाइ दोष दिने गरिएको र त्यसमा पुरुषहरुको समेत ठुलो भूमिका हुने भएकाले यस बिषयमा रहेको भ्रम समेत यस कार्यक्रमले चिर्ने पनि बताईएको छ । उजुरी परेपछि घरमा गएर बुझ्दा झिनोमसिनो कुराले समेत परिवार बिखण्डन हुने अवस्था भटियो यो राम्रो होइन, अधिकारी भन्छिन् ।
आमा, छोरा र बुहारीलाइ नै एकै ठाँउमा ल्याएर परिवारीक सम्बन्ध प्रगाढ बनाउने तथा एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्ने बिषयमा तालिम तथा परामर्श प्रदान गर्ने कार्यक्रमको उदेश्य हो, नगरपालिका महिला शाखाकी फोकल पर्सन सरिता भण्डारीले बताएकीछन् ।
यस कार्यक्रम अन्र्तगत नै घरेलु हिंसा तथा महिला हिँसाको बिषयमा कानूनी परामर्श समेत दिइने योजना रहेको पनि भण्डारीले जनाइन् । यसले आधारभूत कानूनी साक्षरता समेत बढ्ने आफुहरुको अपेक्षा रहेको उनको भनाइ छ ।
नगर कार्यपालिका सदस्य भक्ता दाहालले सासु–बुहारीबीच राम्रो सम्बन्ध राख्ने र समाजलाइ राम्रो सन्देश दिनेहरुको खोजी गरेर सार्वजनिक रुपमा सम्मान गरिने जनाउनु भयो । नगरपालिकाको तर्फबाट नै यस्तो सम्मान गरिने बताइएको छ ।











