काठमाडौं । भारतका प्रधानमन्त्री तथा हालै सम्पन्न चुनावमा अपूर्व विजय हासिल गर्ने भाजपाका नेता नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
लोकसभा चुनावमा भाजपाले ऐतिहासिक विजय हासिल गरेपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्वीटर मार्फत पहिले बधाई दिएका थिए । त्यसपछि टेलिफोन गरेर पनि बधाई दिएका थिए ।
चुनाव परिणामका कारण अत्यधिक व्यस्त रहेका भारतीय प्रधानमन्त्री मोदीले समय निकालेर ओलीसँग फोनमा कुरा गरेका थिए । त्यसपछि उनले राति दस बजे ट्वीटरमा पनि बधाई सन्देशको जवाफ फर्काएका छन् ।
मोदीले आफूलाई बधाई दिने विभिन्न नेपाली नेता तथा अन्य देशका नेताहरुलाई पनि धन्यवाद दिँदै जवाफ फर्काएका छन् । तर, उनले सबैभन्दा लामो जवाफ नेपालका प्रधानमन्त्री ओलीलाई दिएका छन् । त्यसैगरी उनले इज्रायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूलाई हिब्रु भाषामा जवाफ फर्काएका छन् ।
प्रधानमन्त्री ओलीलाई फर्काएको जवाफमा मोदीले नेपाल र भारत प्राचीन कालदेखि अभिन्न मित्र रहिआएको उल्लेख गर्दै जनस्तरको सम्बन्ध अत्यन्तै प्रगाढ रहेको उल्लेख गरेका छन् । नेपाल भारत सम्बन्धलाई आगामी दिनमा अझ उचाईमा उठाउन आफूले सहकार्य गर्ने उनले उल्लेख गरेका छन् ।
मोदीले नेपाली नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कमल थापाले ट्वीटरमा दिएको शुभकामनाको पनि जवाफ फर्काएका छन् ।
मोदीलाई विभिन्न मुलुकका नेताहरुले बधाई दिएका छन् ।
सामाजिक सञ्जाल चलाउन तथा परिचालन गर्नमा मोदी अब्बल मानिन्छन् ।











