काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पछिल्लो केहीदिनदेखि चर्चा र विवादमा छन् ।
पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्न १ करोड रुपैयाँ छुट्याएको छु भनेपछि विवादमा आएका मेयर चौधरीले आफ्नोबारेमा फेसबुकमा स्टाटस लेखेका नेताहरुमाथि पनि आक्रोशित हुनुभएको छ । उहाँकाे बारेमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पाेखरेल र नेकपाका नेता याेगेश भट्टराईले फेसबुकमा शैली नमिलेकाे अभिव्यक्त्रि दिएका थिए ।
रेडियो जनता ८९.१ मेगाहर्जको कार्यक्रम ‘समय संवाद’का लागि कुराकानी गर्दै मेयर चौधरीले आफूलाई एक कल फोन नगरेका योगेश भट्टराईले फेसबुकमा लेखेकोप्रति आक्रोश व्यक्त गर्नुभएको हो । ‘योगेश भट्टराईले फेसबुक स्टाटसमा लेख्नुभएकाे छ, उहाँसँग मात्र कम्प्युटर छ, उहाँले मात्र फेसबुक चलाउन जान्नुभाको छ’ मेयर चाैधरीले भन्नुभयो, ‘लिडर भएको नाताले म उहाँहरुलाई सम्मान गर्छु, तर उहाँहरुले आाजसम्म मलाई फोन गर्नुभाको छैन के हो भनेर, हचुवाको भरमा फेसबुकमा लेखिदिने ?’
मेयर चौधरीले आफूलाई राजाहरुले प्रयोग गर्ने भाषा प्रयोग गर्न नआउने स्पस्ट पार्नुभयो । साथै उहाँले भष्ट्राचारीहरुको लागि उस्तै कडा हुने पनि बताउनुभएको छ । मेयर चौधरीसँगको विस्तृत कुराकानी आइतबार बिहान ६ः३० बजे रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रसारण हुनेछ ।










