झापा । उपचारको क्रममा युवतीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा बल्झिएको विवाद साम्य बनेको छ। पीडित पक्षले अस्पताल तोडफोड र प्रहरीले आश्रु ग्यास प्रहारसँगै लाठी चार्ज गर्दा घटनाले उग्ररुप लिएको थियो। घटना अग्ररुप लिएपछि अस्पताल प्रशासन र पीडित पक्ष भएको वार्तामा दुई बुँदे सहमति भएपछि बल्झिएको विवाद साम्य बनेको हो।
बिर्तामोड नगरपालिकामा सोमबार बिहान दुई बजेसम्म दुवै पक्षबीच भएको वार्तामा उपचारका क्रममा मृत्यु भएका युवतीका परिवारलाई समवेदना स्वरूप ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र उपचारमा संलग्न चिकित्सकको लापरबाही भएको वा नभएको बारेमा छानबिन गर्ने सहमति भएको छ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र कुमार लिङदेनको संयोजकत्वमा बनेको नौ सदस्य छानबिन समितिले १० दिन भित्रमा बिर्तामोड नगरपालिकामा प्रतिवेदन बुझाउने गरी सहमति भएको छ। छानबिन समितिमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अस्पतालका प्रतिनिधि र पीडित पक्षका प्रतिनिधि समेत रहेका छन्।
सहमतिपत्रमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रबकुमार सिवाकोटी र अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाको रोहवरमा हस्ताक्षर भएको छ। बिर्तामोड नगरपालिकाको कार्यालयमा भएको वार्तामा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाको उपस्थिति रहेको थियो।











