काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समूहसँग सर्लाहीमा प्रहरीको दोहोरो भिडन्त भएको छ । सर्लाहीको लालबन्दीमा दोहोरो भिडन्त भएको हो । भिडन्तमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विप्लवको पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
उनले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए ।
पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो ।
घटनापछि विप्लवका कार्यकर्ता जंगलतर्फ भागेको प्रहरीले जनाएको छ । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरू सवार रहेको बताइएको छ ।
मृतकको साथबाट प्रहरीले एक कटुवा पेस्तोल, थ्री नट थ्रीको गोली, सिक्सर रिभल्वर बरामद गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । लोकान्तर बाट









