झापा । झापा जिल्लाका विभिन्न स्थानमा शनिवार चार वटा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।

प्रहरी कार्यालय झापाका अनुसार दमक ५ क्याम्पसमोड स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प २३१८ नम्बरको मोटरसाइकलले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ ह ६६७३ नम्बरको सिटीले बाटो काट्ने गर्ने क्रममा ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक बिर्तामोड नपा ४ बस्ने १७ वर्षीय अनिल राजवंशी र सिटीमा सवार दमक नपा ९ बस्ने ५० वर्षीया दुर्गा काफ्लेलाई निम्स अस्पताल दमकमा उपचारका लागि पठाइएको छ । सिटी चालक दमक ४ बस्ने वर्ष ४३ को प्रकाश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै यात्रुवाहक बसको ठक्करबाट पैदलयात्री मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गड्तौलाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातले मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिवार दिउँसो २ बजे ठक्कर दिएको थियो । श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । चाराआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यसै गरी दमक ४ चिया दोकान स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जार्दै गरेको मे १ ह ४३३० नम्बरको सिटीलाई सोही दिशा तर्फ आउँदै गरेको मे ११ प ३४०४ नम्बरको स्कुटर पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते स्कुटर चालक कमल गाउँपालिका २ लखनपुर बस्ने वर्ष २५ की पुष्पा राजवंशीलाई उपचारका लागि दमक निम्स अस्पताल पठाइएको जनाइएको छ । सिटी चालक ६ बस्ने वर्ष ४९ को बलराम राजवंशी इप्रका दमकले नियन्त्रणमा लिएको छ ।
उता कमल गाउँपालिका ७ मङ्गलवारे चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स १ च १२३८ नम्बरको पिकअप भ्यान र विपरीत दिशावाट आउँदै गरेको को १३ प ८८३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते मोसा चालक गौरदह नगरपालिका ४ बस्ने वर्ष ३८ को धर्मराज पौडेललाई उपचारका लागि विराटनगर न्युरो रेफर गरिएको प्रहरीले जनाएको छ । यता पिकअप भ्यान तथा मोसा इप्रका दमकको नियन्त्रणले नियन्त्रणमा लिएको छ । टाइम्स अफ प्रदेश बाट









