(पार्थ मण्डल) भद्रपुर । भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको छ । नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र चन्द विक्रम नेतृत्वको विप्लव समूहले राखेको झापाका प्रहरी, प्रशासन प्रमुखको दाबी छ । मङ्गलवार आवहन गरेको नेपाल बन्दलाई सफल बनाउन सदरमुकामै बम राखेको हुन सक्ने आशङ्का प्रहरी, प्रशासन प्रमुखले गरेका छन् ।
मेयर तथा उपप्रमुखको कार्य कक्ष चढ्ने सिँढीको तल कालो ब्यागभित्र रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भद्रपुर वडा नम्बर ५ स्थित भद्रपुर बजारमै रहेको नगरपालिकाभित्र बम फेला परेपछि स्थानीयमा खैलाबैला मच्चिएको थियो । बम फेला परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान लगाए । करिब तीन घण्टा भद्रपुरको मुख्य सडक अवरोध भएको थियो ।
तीन पटकमा बम निश्कृय
नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको जानकारी चाराआलीस्थित कालीबहादुर गणबाट नेपाली सेनाका मेजर सन्तोष थापाको नेतृत्वमा बम डिस्फोजल टोली त्यहाँबाट हिँडे । शङ्कास्पद वस्तु फेला परेको करिब ४५ मिनेट भित्रै सेनाको बम डिस्फोजल टोली घटनास्थल आइ पुगेका थिए । राती करिब १० बजेदेखि सेनाको टोलीले बम निश्कृय पार्ने काममा लागे । कालो ब्यागलाई नगरपालिकाबाट निकालेर सुरक्षति स्थान तर्फ लगे ।
त्यहाँ लगेर सेनाको टोलीले १० बजेर ५६ मिनेटमा शङ्कास्पद कालो ब्यागलाई विस्फोट गराइयो । पहिलो पटकको विस्फोटपछि ब्याग च्यातिएर प्रेसर कुकर बाहिर आयो । प्रेसर कुकर बम निस्कृय नभएपछि ११ बजेर १५ मिनेटमा फेरि दोस्रो पटक विस्फोट गराइयो । तरपनि बम निश्कृय भएन । त्यसपछि सेनाले तेस्रो पटक ११ बजेर ५० मिनेटमा विस्फोट गराएर बम निश्कृय पारेका थिए । सेनाका मेजर थापाले रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बमभित्र ६ वटा डेटोनेटर रहेको पुष्टि गरे ।
नगरपालिकामा बम राखेको सूचना कसरी थाहा भयो ?
भद्रपुर नगरपालिकामा बम राखिएको सूचना गृह मन्त्रालयका सचिवले फोन मार्फत झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गराएका थिए । प्रजिअ दाहाललाई खबर आउनु भन्दा अघि नगरपालिकामा बम राखिएको सूचना कसैलाई थाहा थिएन । प्रजिअ दाहाललाई भद्रपुर नगरपालिकामा बम राखेको सूचना आए लगतै प्रजिअ दाहालले तत्काल झापाका प्रहरी प्रमुखहरूलाई जानकारी गराए ।
त्यस पश्चात् जिल्ला प्रहरी कार्यालय झापाले वडा प्रहरी कार्यालय भद्रपुरलाई बम राखिएको सूचना सोमबार बेलुका ८ बजेर ४५ मिनेटमा दिए । सूचना पाउन साथ वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगे । घटनास्थलमा पुगेका प्रहरीले नगरपालिकाभित्र बम खोज्न थाले । प्रहरीले करिब आधा घण्टापछि कालो झोलामा शङ्कास्पद वस्तु फेला पारे । त्यस अवधिभित्र घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहाल, प्रहरी कार्यालय झापाका डिएसपी श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ आइ पुगेका थिए ।
नगरपालिका बाहिर छैन सिसी क्यामेरा !
नगरपालिकाभित्र कसले कति खेर कालो झोला राखेर गएको भन्ने व्यक्तिको खोजीमा प्रहरी लागि परेको छ । नगरपालिका अगाडी एउटा सिसी क्यामेरा जडान गरिएको छ । त्यो सिसी क्यामेरा पनि कमजोर रहेको छ । सिसी क्यामेरा नगरपालिकाको मुख्य गेट र सडकको दृश्य मात्र कैद गर्छ ।
नगरपालिकामा बम राखिएको स्थान सिसी क्यामेराले भेटाउँदैन । बम राखिएको स्थानसँग जोडिएको सडक देवीवस्तीतर्फ जान्छ । नगरपालिका कार्यालयको कार्य कक्षभित्र मात्रै सिसी क्यामेरा जडान गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले आफ्नो परिसर वरिपरि सिसी क्यामेरा जडान नगरेकोले प्रहरीलाई अनुसन्धानमा समस्या हुने भएको छ । नगरपालिकामा पहिलो पटक बम फेला परेको छ । बम फेला परेपनि कुनै क्षति हुन पाए । नगरपालिका परिसर बाहिर कुनै ठुलै घटना भए त्यसको जिम्मेवार कसले लिन्छ, यही घटनाले नगरपालिकाको नेतृत्वमाथि प्रश्न उब्जाएको छ ?









