विष्णुप्रसाद पोखरेल
झापा । नेपालको संविधानले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको छ । तर झापामा एउटा यस्तो गाउँपालिका छ, जहाँ पुरुषले आरक्षण माग गरेका छन् । महिलाभन्दा कम आरक्षणको ब्यवस्था गरिने भएपछि पुरुषहरुले आरक्षण माग गरेका हुन् ।
शत् प्रतिशत महिलाहरुको नेतृत्वमा मात्र गठन गरिएको टोल विकास संस्थाहरुको गठन परिचालनमा पुरुषसमेतको प्रतिनिधित्व रहने व्यवस्था मिलाइने भनेर नयाँ नीति तथा कार्यक्रममा उल्लेख छ ।
गत वर्षदेखि यस गाउँपालिकामा विकास निर्माण लगायतका गतिबिधि र उपभोक्ता समिति नबनाउने उद्देश्यले हरेक टोलमा शत् प्रतिशत महिला रहने गरी टोल विकास संस्था बनाईएका थिए । यसको बिरोधमा वडाध्यक्षहरुले गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाउँदै आन्दोलन समेत गरेको पाईएको थियो ।
गाउँपालिका उपाध्यक्ष डम्बर गिरीका अनुसार ‘हल्दीबारीका महिला, विकासमा पहिला’ भन्ने अभियानलाई जीवन्त राख्दै पुरुषलाई पनि समेटन लागिएको हो । पुरुषको पनि सहभागिताको ब्यापक माग भएकाले नीति तथा कार्यक्रममार्फत गाउँसभामा यो विषयले प्रवेश पाएको हो ।
प्रत्येक टोल विकास संस्थाको अध्यक्षमा अनिवार्य महिला रहने गरी साठी प्रतिशत महिला र चालिस प्रतिशत पुरुषसमेतको प्रतिनिधित्व सुनिश्चित हुने गरि हल्दीबारी गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका र कार्यविधिमा आवश्यक संशोधनको व्यवस्था मिलाउन लागिएको उनले बताए ।
अध्यक्ष भने महिला नै हुने र पदाधिकारी तथा अन्य सदस्यमा मात्र पुरुषलाई आरक्षण हुने बताईएको छ ।
हल्दीवारी गाउँपालिका अन्तरगत साविक गोलधाप, जलथल र हल्दीबारी गाविसका सबै पुराना वडाहरु (२७ स्थान) मा अधिकाँश घरधुरी समेट्दै सत् प्रतिशत महिलाहरुको मात्र प्रतिनिधित्व हुने गरी टोल विकास संस्था गठन भएका छन् । अब यही संस्थामा चालिस प्रतिशतसम्म पुरुषले आरक्षण पाउनेछन् ।महिला खबर










