विष्णुप्रसाद पोखरेल

बनियानी । झापाको धान सुपरजोन क्षेत्र कचनकवल गाँउपालिकाको बनियानीमा नविनतम प्रविधिको प्रयोग सहितको धान रोपाई गर्दै आइतवार १६ औ धान दिवस मनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाइ (धान सुपरजोन) बनियानीको आयोजनामा ड्रम सिडर र राइस ट्रान्सपलान्टरबाट धान रोपेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा प्रविधिमा आधारित बिभिन्न यन्त्रहरुको प्रयोगका साथै परम्परागत रुपमा समेत धान रोपिएको थियो । धान बालीमा प्रविधिमैत्री तथा यान्त्रिकरणबाट धानको उत्पादन बढाउनु जरुरी रहेको भन्दै प्रदेश सभा सदस्य बसन्त बाँनियाले राइस ट्रान्सपलान्टर चढेर धान रोप्नु भएको थियो ।

सो अवसरमा कचनकवल गाँउपालिका र भद्रपुर नगरपालिकाको ३ वटा वाडमा सिमित रहेको धान सुपरजोन क्षेत्र जिल्लाभर कार्यक्षेत्र भएको पनि बताईएको थियो । बर्षौदेखि परम्परागत रुपमा धान खेती गर्दै आएका किसानहरुले नयाँ उपकरणहरुको प्रयोग गरेको देखेर उत्साहका साथ अवलोकन गरेका थिए ।

प्रदेश सभा सदस्य बाँनियाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कृषिमैत्री नीति तथा कार्यक्रम र बजेट बनाएको उल्लेख गर्दै अब बजारीकरणका लागि पनि ध्यान दिनु पर्ने अवस्थामा पुगेको बताउनु भयो । प्रविधि एवं यन्त्रिकरणसंगै बजारीकरणका लागि अब लाग्नु पर्ने अवस्था आएको छ, बाँनियाले भन्नुभयो ।

परियोजना कार्यन्वय इकाई बाँनियाका बरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाका अनुसार झापामा बर्षे, हिँउदे र चैते धान रोपाइ हुने गरेको छ । दुइ बालीको धेरै सम्भावाना र तीनबालीसम्म यहाँ धान लगाउन सकिन्छ । जिल्लामा करिब ८८ हजार हेक्टरमा बर्षे धान र २५ हजार हेक्टरमा हिउँदे तथा चैते धान हुने लगाइन्छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा झापामा ८७ हजार ५ सय हेक्टरमा धान खेती भएर ३ लाख ३८ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर ३ हजार ८ सय ६३ केजी रहेको पनि थापाले जनाउनु भयो । उहाँका अनुसार परियोजनाले धान बिस्तारलाइ अभियानको रुपमा अघि बढाएपछि उल्लेख्यमात्रामा धान खेती हँुदै आएको छ ।

तीनबर्षको अवधिमा हिउँदे तथा चैते धान २ सय हेक्टरबाट बढेर अहिले १ हजार हेक्टरमा रोपण हुने अवस्था पुगेको छ । कृषि विकास अधिकृत सागर विष्टका अनुसार क्षेत्र विस्तारसंगै नविनतम प्रविधि ड्रम सिडर, सिड ड्रिलबाट छरुवा धान खेती, स्वचालित सिडर मेशिन, राइस ट्रान्सपलान्टरबाट धान रोपाइ, सौर्यपम्प सिचाइ, ब्राउन म्यानुरिड्ड, ग्रीन म्यानुरिड्ड, उचित झारपात ब्यवस्थापनजस्ता कार्यले धान खेतीमा आकर्षण र उत्पादन लागत कम हुँदै गएको छ ।